Dhulikhel Eco Banner new

उपभोक्तालाई बिल माग्न प्रोत्साहन: ३ हजारको खरिदमा सन्तमायालाई १० लाखको बम्पर

650
shares

काठमाडौं— बजारमा सामान किनेपछि अनिवार्य रूपमा बिल लिने बानीले नुवाकोटकी सन्तमाया तामाङलाई एकाएक लखपति बनाएको छ। जम्मा ३ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा लिएको बिलका आधारमा उनले १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। आन्तरिक राजस्व विभागले उपभोक्तालाई आधिकारिक बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत गोलाप्रथाबाट उनी भाग्यशाली विजेता बनेकी हुन्।

आइतबार राजधानीको विशाल बजारमा आयोजित एक विशेष समारोहबीच चर्चित हास्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले गोलाप्रथाबाट विजेताहरुको नाम सार्वजनिक गरेका थिए। सोही कार्यक्रममार्फत अन्य १६ जना उपभोक्ताले जनही १ लाख रुपैयाँ (करकट्टीअघि १ लाख ३४ हजार ३३४ रुपैयाँ) जितेका छन्। विभागका अनुसार बम्पर विजेता सन्तमायाले भने सरकारी नियमअनुसार लाग्ने करकट्टीपछि खुद ७ लाख ५० हजार रुपैयाँ हात पार्नेछिन्।

गत असोज १६ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको यस अभियानमा क्यूआर कोडमार्फत भएका भुक्तानीसहित कुल ३ करोड ७७ लाखभन्दा बढी कारोबारलाई सहभागी गराइएको थियो। उपहार दाबी गर्नका लागि भाग्यशाली विजेताहरूले आगामी कात्तिक १५ गतेभित्र आफ्नो सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरिसक्नुपर्ने विभागले जनाएको छ।