Dhulikhel Eco Banner new

महाअष्टमीमा महागौरीको पूजा : शक्तिपीठमा बिहानैदेखि घुइँचो

559
shares

बडादशैंअन्तर्गत महाअष्टमीको अवसरमा आज देशभरका शक्तिपीठ र दसैँघरहरूमा नवदुर्गाकी आठौँ स्वरूप महागौरीको विशेष पूजाआराधना गरिँदैछ । नवरात्रभर देवीको उपासना गर्ने वैदिक परम्पराअनुसार आइतबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका देवी मन्दिरहरूमा दर्शनार्थीको बाक्लो चहलपहल देखिएको छ ।

श्वेत वस्त्र धारण गरेकी र सेतो वृषभमा सवार महागौरीको आराधना गर्नाले ऐश्वर्य, विद्या र शक्ति प्राप्त हुने धार्मिक जनविश्वास छ । यसै आस्थाका साथ आज घर–घरमा स्थापित पूजाकोठामा विधिपूर्वक दुर्गा सप्तशती (चण्डी) र देवीभागवत पाठसहित देवी स्तोत्र गुञ्जायमान भइरहेका छन् ।

गत असोज २५ गते घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको यस वर्षको नवरात्रमा हिजो सप्तमीका दिन परम्पराअनुसार दसैँघरमा फूलपाती भित्र्याइएको थियो । नवरात्रको अन्तिम दिन भोलि महानवमीमा सिद्धिदात्रीको अर्चना गरेपश्चात् विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरिन्छ । १५ दिनसम्म चल्ने यो पर्वमा पारिवारिक पुनर्मिलन र सद्भावको विशेष महत्त्व रहन्छ ।