Dhulikhel Eco Banner new

यस वर्ष महाअष्टमी दुई दिन : देशभर शक्तिस्वरूपा दुर्गाको विशेष आराधना

702
shares

बडादसैँको महत्त्वपूर्ण दिन मानिने महाअष्टमी यस वर्ष लगातार दुई दिन परेको छ। पञ्चाङ्ग गणनाअनुसार तिथिको घटबढ भएका कारण आइतबार र सोमबार (कात्तिक १ र २ गते) दुवै दिन महाअष्टमीको व्रत तथा पूजा आराधना गरिएको हो।

तिथिको समय लम्बिएकाले भक्तजनले आफ्नो स्थानीय परम्परा र पञ्चाङ्गको मान्यताअनुसार दुवै दिन शक्तिस्वरूपा दुर्गा भवानीको आराधना गरिरहेका छन्। आइतबारदेखि सुरु भएको महाअष्टमीको व्रत र विशेष पूजालाई आज सोमबार पनि देशभरका शक्तिपीठ र मन्दिरहरूमा निरन्तरता दिइएको छ।

यस अवसरमा देशभरका दसैँघर, कोत र शक्तिपीठहरूमा बिहानैदेखि विधिपूर्वक देवीको पूजा गर्नेहरूको घुइँचो लागेको छ। महाअष्टमीको दिन विशेषगरी दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्रको पाठ गर्ने धार्मिक मान्यता रहिआएको छ। यसैगरी, आफ्नो कुल परम्परा र चलनअनुसार कतिपय मन्दिर तथा शक्तिपीठहरूमा आज पशुबलिसहितको विशेष पूजासमेत भइरहेको छ।