Dhulikhel Eco Banner new

बैंकरलाई दक्ष बनाउने ‘एनबीआई’ खस्किदो अवस्थामा, आधा दर्जन कर्मचारीले दिए राजीनामा

5.34K
shares

काठमाडौं, १० कात्तिक । नेपाल राष्ट्र बैंकको मूख्य लगानी रहेको प्रतिष्ठित तालिम प्रदायक संस्था नेपाल बैंकिङ इन्ष्टिच्युट धराशायी अवस्थामा पुग्ने खतरा देखिएको छ । पछिल्लो समय संस्थाका उच्च व्यवस्थापन तहका कर्मचारीहरुको मनपरी तथा सञ्चालक समितिको बेवास्ता कारण संस्था खस्किदो अवस्थामा देखिएको हो ।

बैंकिङ क्षेत्रका कर्मचारीहरुलाई दक्ष बनाउनका लागि तालिम दिने भनेर यस संस्था राष्ट्र बैंककै इनिसिएसनमा स्थापना गरिएको थियो । एनबीआईमा राष्ट्र बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थाको समेत लगानी रहेको छ ।

तर लाजमर्दो कुरा चाहिँ यस संस्थाले अहिलेसम्म लगानीकर्ताका लागि उचित प्रतिफल दिन सकेको छैन । सोही प्रकृतिको अर्को संस्था (विफिन) ले भने आकर्षक लाभांश दिइरहेको छ । कम्पनीको घट्दो शाखका कारण यतिबेला कर्मचारीले छाड्ने क्रम धेरै छ ।

फ्याकल्टी मेम्बर अभयराज शर्मा, मानव संशाधन विभागमा कार्यरत सदिक्षा लम्साल, अनुसन्धान विभागमा कृष्ण चौलागाईं, मार्केटिङ शाखामा कार्यरत भगवती अर्याल, संगिता प्याकुरेल, करुणा तुलाधर लगायतका कर्मचारीले राजीनामा दिएर आफ्नो बाटो लागेका छन् ।

सन्तुष्ट छैनन् लगानीकर्ता

एनबीआईमा लगानी गरेका कतिपय लगानीकर्ताहरु सन्तुष्ट छैनन् । एनबीआईको अध्यक्ष राष्ट्र बैंककै कार्यकारी निर्देशक हुने भएकाले पनि मुख खोल्न भने लगानीकर्ता बैंक तथा वित्तीय संस्थालाई गाह्रो छ ।

संस्थालाई वलियो बनाउनका लागि दक्ष कर्मचारी राख्नु पर्नेमा भएका कर्मचारीहरु जाने र नयाँ ल्याएकाहरु पनि क्षमतावान प्राथमकितामा कम पर्ने गरेको कतिपय लगानीकर्ताको गुनासो छ ।

अहिले एनबीआईको प्रमुख कार्यकारी अधिकृतमा सुजन सुवेदी छन् । उनी विफिनको डिसीईओको रुपमा करारमा काम गरेका व्यक्ति हुन् । अर्को प्रतिष्पर्धी संस्थाको सानो पोजिसनको मान्छेलाई ल्याएर ठूलो पोजिसन दिइनु पनि प्राकृतिक नभएको एनबीआईमै कार्यरत कर्मचारीहरु बताउछन् ।

‘केन्द्रीय बैंककै मूख्य लगानी रहेको संस्था हो, भोलि असफल हुँदा नियामक निकायकै बद्नाम हुन्छ’ एनबीआईकै कर्मचारीहरु भन्छन्, ‘अझैपनि संस्थालाई यसरी छाड्ने हो भने थप धराशायी बन्नेछ ।’