भारतमा नयाँ निसान म्याग्नाइट सार्वजनिक, मूल्य ५.९९ लाख भारुदेखि
वि.सं.२०८३ कात्तिक १० मंगलवार १४:०२
shares

काठमाडौं, १० कार्तिक। जापानी अटोमोबाइल कम्पनी निसानले भारतीय बजारमा म्याग्नाइट एसयूभीको फेसलिफ्ट संस्करण सार्वजनिक गर्दै बिक्री सुरु गरेको छ । सन् २०२४ को नयाँ मोडलको सुरुवाती मूल्य ५ लाख ९९ हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीका अनुसार नयाँ म्याग्नाइट ६ वटा भेरियन्टमा उपलब्ध छ । भिसिया, भिसिया प्लस, एसेन्टा, एन कनेक्टा, टेक्ना र टेक्ना प्लस भेरियन्टमा उपलब्ध गाडीको मूल्य ५ लाख ९९ हजारदेखि ११ लाख ५० हजार भारतीय रुपैयाँसम्म तोकिएको छ ।
कम्पनीले सार्वजनिक गरेको मूल्य पहिलो १० हजार गाडीको डेलिभरीका लागि मात्रै लागू हुने प्रारम्भिक मूल्य हो । यसअघि बजारमा उपलब्ध म्याग्नाइटको मूल्य ५ लाख ९९ हजारदेखि ११ लाख २७ हजार भारतीय रुपैयाँसम्म थियो । नयाँ मोडलमा केही भेरियन्टको मूल्य बढाइए पनि सुरुवाती मूल्य भने यथावत् राखिएको छ ।
डिजाइनमा नयाँपन
नयाँ म्याग्नाइटको बाहिरी डिजाइनमा विभिन्न परिमार्जन गरिएको छ । अगाडिको भागमा पहिलेभन्दा ठूलो र फराकिलो फ्रन्ट ग्रिल, नयाँ डिजाइनको एलईडी हेडलाइट, परिमार्जित एलईडी डेटाइम रनिङ लाइट तथा नयाँ डिजाइनको बम्पर दिइएको छ ।
त्यस्तै, पछाडिको भागमा नयाँ एलईडी टेललाइट र परिमार्जित बम्पर राखिएको छ । गाडीमा १६ इन्चका नयाँ अलोय ह्विल पनि उपलब्ध छन् । कम्पनीले नयाँ मोडलमा सनराइज कपर ओरेन्ज नामको नयाँ रङ थप गरेको छ ।
बाहिरी डिजाइनमा परिमार्जन गरिए पनि गाडीको समग्र आकार र मुख्य आयाम भने परिवर्तन गरिएको छैन ।
नयाँ म्याग्नाइटको लम्बाइ ३ हजार ९९४ मिलिमिटर, चौडाइ १ हजार ७५८ मिलिमिटर र उचाइ १ हजार ५७२ मिलिमिटर छ । यसको ह्विलबेस २ हजार ५०० मिलिमिटर र ग्राउन्ड क्लियरेन्स २०५ मिलिमिटर रहेको छ ।
केबिनमा नयाँ डिजाइन, आधुनिक फिचर
नयाँ म्याग्नाइटको इन्टेरियरमा कालो र सुन्तला रङको डुअल टोन डिजाइन दिइएको छ । सिटको अपहोल्स्ट्री, स्टेयरिङ ह्विल र ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरमा समेत परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।
नयाँ संस्करणमा टाइप–सी चार्जिङ पोर्ट, अटोमेटिक हेडलाइट, रिमोट स्टार्ट सुविधा भएको नयाँ की फोब र अटो डिमिङ इन्टेरियर रियर भ्यु मिरर थपिएका छन् ।
यसअघि उपलब्ध वायरलेस फोन चार्जर, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, जेबीएल साउन्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र ३६० डिग्री क्यामेराजस्ता सुविधालाई पनि निरन्तरता दिइएको छ ।
सबै भेरियन्टमा ६ एयरब्याग
नयाँ म्याग्नाइटमा सुरक्षासम्बन्धी सुविधालाई पनि प्राथमिकता दिइएको छ । कम्पनीका अनुसार सबै भेरियन्टमा ६ वटा एयरब्याग उपलब्ध छन् ।
त्यस्तै, सबै सिटमा तीन बिन्दु भएको सिटबेल्ट, सिटबेल्ट रिमाइन्डर र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ९ईएससी० जस्ता सुरक्षा सुविधा समावेश गरिएको छ ।
दुई इन्जिन विकल्प, म्यानुअल र अटोमेटिक गियरबक्स
नयाँ निसान म्याग्नाइटमा १.० लिटर नेचुरली एस्पिरेटेड र १.० लिटर टर्बो पेट्रोल इन्जिनका विकल्प उपलब्ध छन् ।
१.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच गियरको म्यानुअल र एएमटी गियरबक्स विकल्प उपलब्ध छन् ।
त्यस्तै, १.० लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच गियरको म्यानुअल तथा सीभीटी अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ ।
कम्पनीले उपलब्ध गराएको विवरणअनुसार म्यानुअल गियरबक्स भएको म्याग्नाइटले प्रतिलिटर २० किलोमिटर र सीभीटी अटोमेटिक ट्रान्समिसन भएको संस्करणले प्रतिलिटर १७.४ किलोमिटरसम्म माइलेज दिन्छ ।




















