Dhulikhel Eco Banner new

निफ्राको नाफा २० प्रतिशतले घट्यो, व्यवसाय विस्तारमा भने फड्को

442
shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफामा करिब २० प्रतिशतको गिरावट आएको छ। कर्जा प्रवाह र निक्षेप संकलन आक्रामक रूपमा बढाए पनि ब्याज आम्दानी घट्नु र सम्भावित जोखिम व्यवस्थापनका लागि धेरै रकम छुट्याउनुपर्दा बैंकको नाफा प्रभावित भएको हो।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा खुद नाफा १६ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको यसै अवधिमा बैंकले २० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले घटेर ३४ करोड ४२ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि साढे १९ प्रतिशतले ओरालो लागेको छ।

नाफा खुम्चिनुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) का लागि छुट्याइएको उच्च रकम हो। गत वर्ष १ करोड २२ लाख रुपैयाँ मात्र रहेको यस्तो रकम यसपटक २१५ प्रतिशतले बढेर ३ करोड ८७ लाख रुपैयाँ नाघेको छ। साथै, बैंकको जगेडा कोष पनि ३८ प्रतिशतले घटेर २ अर्ब ६७ करोड रुपैयाँमा खुम्चिएको छ। कमिसनबाट हुने आम्दानी भने ५८ प्रतिशतले बढेर २ करोड नाघेको छ।

नाफाका सूचक नकारात्मक रहे पनि बैंकले व्यवसाय विस्तारमा भने आकर्षक फड्को मारेको छ। पहिलो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन ५४ प्रतिशतले बढेर १२ अर्ब ४ करोड र कर्जा प्रवाह ३० प्रतिशतले बढेर ३४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। नाफा घटेसँगै २१ अर्ब ६० करोड चुक्ता पुँजी रहेको निफ्राको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.३८ रुपैयाँ कायम भएको छ।