विपरीत परिस्थितिमा पनि असोजको राजस्व संकलनमा ३६.५ प्रतिशत वृद्धि
वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:३६
shares

काठमाडौं, १० कार्तिक। बाढीपहिरो, चीनसँगको सीमा क्षेत्रमा देखिएका अवरोध तथा वीरगञ्ज भन्सारमा उत्पन्न प्राविधिक समस्याका बाबजुद सरकारले असोज महिनामा राजस्व संकलनको लक्ष्यनजिक पुग्न सफल भएको छ।
सरकारले असोजमा १ खर्ब १५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो महिनाका लागि निर्धारण गरिएको १ खर्ब १५ अर्ब ४१ करोड रुपैयाँको लक्ष्यको ९९.८ प्रतिशत हो।
गत आर्थिक वर्षको सोही अवधिमा ८४ अर्ब ४१ करोड रुपैयाँ राजस्व उठेकोमा यस वर्ष असोजमा संकलन करिब ३६.५ प्रतिशतले बढेको छ। यसले प्रतिकूल परिस्थितिका बीच पनि राजस्व संकलनमा सुधार आएको देखाउँछ।
तर, आर्थिक वर्षको पहिलो तीन महिनाको समग्र राजस्व संकलन भने लक्ष्यअनुसार हुन सकेको छैन। असोज मसान्तसम्म सरकारले कुल २ खर्ब ९९ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त अवधिका लागि ३ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। यसअनुसार लक्ष्यको ९०.८ प्रतिशत मात्र राजस्व उठेको छ।
उपभोगमा आधारित करबाट हुने आम्दानीमा सुधार देखिए पनि आयकर संकलन कमजोर रहनु सरकारका लागि प्रमुख चुनौती बनेको छ। असोजमा मासिक लक्ष्य लगभग पूरा भए पनि समग्र राजस्व संकलनलाई निर्धारित लक्ष्यसम्म पुर्याउन अझै दबाब देखिएको छ।




















