नागढुंगा सुरुङमार्गबाट पाँच दिनमै ५१ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १४:२२
shares

काठमाडौं, २० कात्तिक । नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएको चार दिनमै ५१ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत नोभेम्बर १ (कात्तिक १५) देखि सञ्चालनमा आएको सुरुङमार्ग हुँदै दैनिक औसत ८ हजार सवारीसाधन आवतजावत गरिरहेका छन् ।
सुरुङमार्ग सञ्चालनको पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएकोमा चौथो दिनसम्म आइपुग्दा दैनिक राजस्व बढेर १४ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
यद्यपि, सुरुङमार्ग प्रयोग गर्ने केही भारतीय नम्बर प्लेटका सवारीसाधनले नगद अभावका कारण टोल शुल्क भुक्तानीमा समस्या भोग्नुपरेको छ । नगद अभावमा शुल्क तिर्न ढिलाइ हुँदा टोल संकलन केन्द्रमा सवारीसाधनको लाइन लाग्ने र ट्राफिक जाम हुने समस्या देखिएको छ ।
सुरुङमार्ग सञ्चालनले नागढुंगा–नौबिसे सडकखण्डको यात्रा सहज र छोटो बनाउने अपेक्षा गरिएको छ । तर, टोल शुल्क भुक्तानीलाई सहज बनाउने प्रभावकारी व्यवस्था नहुँदा केही सवारीचालकले भने सास्ती व्यहोर्नुपरेको छ ।



















