अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकटिङ पार्टनरमा खल्ती
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १६:४३
shares

काठमाडौं, २० कात्तिक। डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती बाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकटिङ पार्टनरका रूपमा आबद्ध भएको छ।
जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा कन्सर्ट आयोजना हुने तय भएको छ। उक्त कार्यक्रममा अतिफ अस्लमले आफ्ना चर्चित गीतमार्फत नेपाली दर्शकमाझ प्रत्यक्ष प्रस्तुति दिनेछन्।
दक्षिण एसियाली संगीत क्षेत्रमा लोकप्रिय अतिफ अस्लमका ‘ताजदार–ए–हरम’, ‘तेरे बिन’ र ‘दिल दियाँ गल्लाँ’ लगायतका गीतले विश्वभरका संगीतप्रेमीमाझ विशेष पहिचान बनाएका छन्। उनको प्रस्तुति हेर्न नेपालसँगै भारत तथा अन्य दक्षिण एसियाली देशबाट समेत दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
डिजिटल टिकटिङ पार्टनरका रूपमा खल्तीले कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउने जनाएको छ। यस सहकार्यमार्फत दर्शकले डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्।
सहकार्यबारे खल्तीका चिफ अपरेटिङ अफिसर पुष्पराज न्यौपानेले अतिफ अस्लमजस्ता लोकप्रिय कलाकारको कन्सर्टसँग डिजिटल टिकटिङ पार्टनरका रूपमा जोडिन पाउँदा उत्साहित रहेको बताए।
उनले नेपालमा संगीत तथा मनोरञ्जनसम्बन्धी कार्यक्रमप्रति दर्शकको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यस सहकार्यले दर्शकलाई सहज डिजिटल टिकटिङ अनुभव र पारदर्शिता प्रदान गर्नुका साथै मनोरञ्जन क्षेत्रमा डिजिटल सेवाको प्रयोग विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
खल्ती बाइ आइएमईले मनोरञ्जन, पर्यटन, यात्रा लगायत विभिन्न क्षेत्रमा डिजिटल भुक्तानी तथा सेवाको पहुँच विस्तार गर्दै आएको छ। अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टसँगको सहकार्यले नेपालको मनोरञ्जन क्षेत्रमा डिजिटल सेवाको प्रयोगलाई थप प्रोत्साहन गर्ने कम्पनीको अपेक्षा छ।



















