Dhulikhel Eco Banner new

आरएसडिसी लघुवित्तको नाफा ४८.४५ प्रतिशत

6.85K
shares

काठमाडौं, ३ साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र ईपीएस दुवै बढेको छ । संस्थाले प्रकाशन गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा र ईपीएस बढेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.४५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड १० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.३६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४२.२६ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४९.६५ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १० करोड ५८ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्यसम्ममा १२ रुपैयाँ ४४ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ ३५ पैसा बढेर १६ रुपैयाँ ७९ पैसा पुगेको छ । असार मसान्तमा कम्पनीको मूल्य आम्दानी अनुपात ३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३७.०९ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ५१.१४ प्रतिशत र कर्जा ५५.९६ प्रतिशत बढेको छ ।