Dhulikhel Eco Banner new

तीन सय डलरमाथिको मोबाईल प्रतिबन्ध : ग्रे मार्केट फस्टाउँदै, राज्यको राजश्व गुम्यो

16.12K
shares

काठमाडौं, ५ साउन । सरकारले विभिन्न सामानको आयातमा प्रतिबन्ध लगाएको छ । देशमा विदेशी मुद्राको सञ्चिति घटेको भन्दै राज्यले विभिन्न वस्तुमाथि आयात प्रतिबन्ध लगाएको छ । यसमध्येको एक हो मोबाईल ।

मोबाईल अहिलेको अवस्थामा अत्याबश्यक वस्तु भइसकेको छ । व्यक्तिहरु अहिले धेरै काम मोबाइलबाट गरिरहेका हुन्छन् । अनि उनीहरुले राम्रो र टिकाउ मोबाइल किन्ने गर्दछन् । तर नेपाल सरकारले साउन १ गतेदेखि लागूहुने गरि ३०० डलरभन्दा माथिका मोबाईल आयातमा प्रतिबन्ध लगाएको छ । यसले राज्यको राजश्व गुम्ने अवस्थामा पुगेको छ भने अवैध रुपमा बजारमा आएका मोबाईलले बजार लिइरहेका छन् ।

राज्यले ३०० डलरभन्दा माथिको मोबाइल आयात गर्न प्रतिबन्ध लगाए पछि व्यवसायीहरु समस्यामा परेको र तस्करहरु मालामाल भइरहेको नेपाल मोबाईल वितरक संघका महासचिव रघु त्रिपाठीको भनाइ छ । सरकारी निर्णयको असरले सरकारले प्राप्त गर्ने राजश्व समेत नै गुमिरहेको उनले बताए ।

‘उपभोक्ताले कुन मोबाईल अवैध हो वा कुन मोबाईल बैध हो भन्ने छुट्याउन सक्दैन्, अनि यसबाट ठूलो लगानी गरेर व्यवसाय गरिरहेका व्यापारि मारमा पर्छन भने राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको अवस्था छ,’ उनले भने । राज्यले केही समय अघि ६०० डलरसम्मको मोबाईल आयात गर्ने दिने निर्णय गरेको थियो भने यसमा थप कडाइ गर्दै ३०० डलरमा झारिएको छ ।

यसबाट करिब ४१ अर्बको व्यापार घट्ने संघका महासचिव त्रिपाठीले बताए । त्रिपाठीका अनुसार गत आर्थिक वर्षमा ४२ अर्ब रुपैयाँको मोबाईल नेपा भित्रिएको छ । यसबाट राज्यले राजश्व संकलन गर्न पाउँछ । तर गैर कानुनी रुपमा आएका मोबाईलमा राज्यले कुनै पनि कर लिन पाउँदन् ।

‘यसबाट अवैध कार्यमा लागेका व्यक्तिहरुलाई फाइदा पुगेको छ, केही सस्तोमा मोबाइल पाउँदा उपभोक्तालाई पनि फाइदै भयो होला तर ठूलो लगानी गरेका व्यवसायी र राज्यलाई त नोक्सान भइरहेको छ,’ महासचिव त्रिपाठीले भने ।

मोबाइल आयात गर्दा राज्यले १३ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सार महसुल लिदै आएको छ । यस्तो अबैध मोबाईलको प्रयोग रोक्नका लागि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्नु पर्ने उनको भनाइ छ । यदि यो व्यवस्था लागू गरिएको खण्डमा राज्यको राजश्व बढ्नुका साथै अवैध रुपमा नेपाल भित्रिने मोबाईल माथि रोक लगाउन सकिने त्रिपाठीको भनाइ छ ।

अहिले ३ सय डलरभन्दा माथिको मोबाइलमा लगाएको प्रतिबन्धका कारण यो व्यवसायमा संलग्न तथा यसबाट रोजगारी पाएका व्यक्तिहरु प्रभावित भएका छन् । मोबाईल व्यवसायबाट करिब ४५ हजार व्यक्तिहरुले रोजगारी पाएको तथ्यांकले देखाएको छ ।

यो नयाँ व्यवस्थाले उनीहरुको रोजिरोटीमा समेत समस्या पर्ने अवस्था आएको महासंघका महासचिव त्रिपाठीको भनाइ छ । सामान्य रुपमा पनि नेपालमा करिब ३० प्रतिशतको हाराहारीमा अवैध फोनहरु भित्रिने गरेको अवस्थामा अहिलेको व्यवस्थाले अझ बढी भित्रिने जोखिम बढेको छ । अहिले राज्यले वैध रुपमा ल्याउने कार्यमा प्रतिबन्ध लगाएको छ तर बजारमा मोबाईलको अभाव भने छैन ।