उदयपुरमा १३ जना रग्बी खेलका कोचलाई दुई दिने प्रशिक्षण
वि.सं.२०७९ साउन १८ बुधवार १०:४७
shares

काठमाडौं, १८ साउन । उदयपुरमा १३ जना रग्बी खेलका कोचलाई दुई दिने प्रशिक्षण दिइएको छ । नेपाल रग्वी संघ प्रदेश–१ को आयोजनामा उदयपुरको कटारीमा रहेको टाइगर फिल्डमा प्रशिक्षण दिइएको हो ।
नेपाल रग्वी संघ प्रदेश–१ का संयोजक विनोद कटुवाल –दिवश) का अनुसार प्रदेश १ को सुनसरी, मोरङ, उदयपुर, इलाम पाँचथरबाट रग्वी खेलका १३ जना कोचहरु सहभागी भएका छन् । कटुवालले भने, ‘अब पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्बी खेल पनि एक छ, त्यसको लागि प्रदेश–१ ले तयारी सुरु गर्दै प्रशिक्षण दिएको हो ।’
पहिलो चरणमा कोचलाई प्रशिक्षण दिने र द्रोस्रो चरणमा खेलाडीलाई प्रशिक्षण दिइन नेपाल रग्वी संघ प्रदेश–१ ले जानकारी दिइएको छ । गएको साउन १६ गतेदेखि सुरु भएको प्रशिक्षण साउन १८ गतेसम्म सञ्चालन हुने छ ।
कटुवालका अनुसार प्रशिक्षकहरु रग्बी खेलका केन्द्रीय टोलीबाट प्रशिक्षक ल्याइएको छ । सुन्दा र हेर्दा नयाँ खेल लागे पनि रग्बी खेल दर्ताका हिसाबले नेपालको पुरानो खेल हो । २०५२ (सन् १९९५) सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेपाल रग्बी संघ दर्ता भएको थियो । त्यसपछि रग्बी खेलले विस्तारै गति लिइरहेको पाइन्छ ।



















