ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको भेट
वि.सं.२०७९ भदौ १४ मंगलवार १२:५४
shares

काठमाडौँ, १४ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियन बीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा भएको भेटमा उनीहरु बीच द्विपक्षीय सम्बन्ध र जल तथा मौषम विज्ञानका विविध विषयमा छलफल भएको हो ।
भेटका क्रममा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी सहकार्य र सद्भावमा आधारित रहेको उल्लेख गर्दै युरोपेली सङ्घको सदस्य मुलुक स्लोभाकले नेपालको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रति धन्यवाद व्यक्त गरिन् ।
विकास साझेदार मुलुकको सहयोगमा नेपालले सुशासन एवं सामावेशी नागरिक सहभागिताको लक्ष्यमार्फत स्थितरता, प्रगति एवं दिगो विकासका लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जलवायु परिवर्तन एवं मौषम पूर्वानुमानका विषयमा स्लोभाकसँग सहकार्य गरेर अगाडि बढ्ने बताइन् ।
नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये पर्यटन प्रवद्र्धन एक रहेको बताउँदै मन्त्री भुसालले उल्लेख्य मात्रामा नेपाल आउने स्लोभाक पर्यटकका कारण दुई देशबीचमा जनस्तरको सम्बन्ध विकास भएको भन्दै खुसी व्यक्त गरिन् । सो अवसरमा राजदूत रोबर्ट म्यक्सियनले नेपाल र स्लोभाक गणतन्त्र दुवै भुपरिवेष्ठित मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
आफ्नो देशमा मौषसजन्य प्रविधिको राम्रो विकास भएको जानकारी गराउँदै उनले स्लोभाकमा उत्पादन भएका राडार, पूर्वानुमानका पूर्वाधार विकासमा सहकार्य गर्न सकिने विश्वास दिलाए । भेटमा सहसचिव द्वय बाबुरा भण्डारी, चिरन्जीबि चटौतसहित परराष्ट्रका अधिकारीको उपस्थिती थियो ।



















