Dhulikhel Eco Banner new

पठाओलाई कडाई गर्दै ट्राफिक प्रहरी, बाइकमा मोबाइल होल्डर राखे २० हजारसम्म जरिवाना

6.46K
shares

काठमाडौं, १६ भदौ । ट्राफिक प्रहरीले राइडर सेयरिङ एप कम्पनीहरुलाई मोटरसाइकलमा मोबाइल स्ट्याण्ड नराख्न आग्रह गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले कम्पनीहरुलाई पत्र लेख्दै बाइकमा मोबाइल स्ट्याण्ड राख्नमा रोक लगाएको हो ।

मोबाइल स्टाण्ड राख्दा मोटरसाइकलमा मोडिफिकेसन भएको भन्दै ट्राफिक प्रहरीले यस्तो कार्यमा रोक लगाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । बाइकमका मोडिफिकेसन गरेर सञ्चालन गर्दा दुर्घटनाको जोखिम समेत बढाएकाले यस्ता स्ट्यान्ड र मोबइल अड्याउने कुनै प्रकारका वस्तु नराख्न निर्देशन दिनु परेको उनको भनाइ छ ।

‘सवारी साधन खरिद गर्दा भन्दा अरु कुनै पनि चिजवस्तु राख्न नपाइने नियम रहेको छ, सोही अनुसार अहिले यसलाई कडाइ गरिएको हो,’ उनले भने । नियम अनुसार नै यो कार्यमा कडाइ गरिएको छ र पालना नगर्दा कारबाहीको भागिहुनु पर्ने उनको भनाइ छ ।

मोबाइल हेर्दै बाइक चलाउँदा दुर्घटनाको जोखिम बढेको ट्राफिकको निष्कर्ष छ । सवारी साधनको स्वरूप फर्ने, रङ बदल्ने, नयाँ पाटपूर्जा थपघट गर्ने काम कानुनले निषेध गरेको छ । यसका साथै सवारी चलाउँदा मोबाइल फोन प्रयोग पनि निषेधित छ । यो नियमको पालना नगरेको खण्डमा ५०० देखि २ हजार रुपैयाँसम्म जरिमान हुने कानुनी व्यवस्था रहेको छ । यस्तो कार्य एक पटकभन्दा बढी दोहोर्‍याएमा ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

यो नियमको पालना नभएको खण्डमा कानुन बमोजिम कारबाही हुने प्रवक्ता भट्टको भनाइ छ । सम्झाइ बुझाइ गर्दा पनि कमी नआएकाले अब कडा कारबाही नै गर्नु पर्ने उनले बताए । नेपालमा अहिले पठाव, इनड्राइभर, टुटल लगायतका सेयरिङ एप सञ्चालनमा रहेका छन् ।