Dhulikhel Eco Banner new

वारेन बफेटले शेयर बिक्री गर्दा चुआनफूको सम्पत्ति २ खर्बले घट्यो

5.15K
shares

काठमाडौं, १६ भदौ । चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीका सहसंस्थापक तथा प्रमुख कार्यकारी वाङ चुआनफूले एकै झट्कामा २ खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका छन् । विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीमा भएको शेयर वारेन बफेटले बिक्री गरेसँगै वाङको सम्पत्ति पनि घटेको हो ।

शेयर बादशाह वारेन बफेटको कम्पनी ब्रेकसायर हाथवेले चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीमा भएको शेयर बिक्री गरेको हो । जसको प्रभाव वाङ चुआनफूलाई परेको छ । सन् २००८ मा हाथवेले बीवाईडीमा लगानी गरेको थियो । हाथवेले आफ्नो हिस्सामा रहेको केही प्रतिशत शेयर बिक्री गरेसँगै कम्पनीको शेयर मूल्य घट्न शुरु गरेको थियो ।

हङकङको स्टक एक्सचेञ्जमा सूचीकृत बीवाईडी कम्पनीको शेयर बुधबार मात्रै १२ प्रतिशतले ओरालो लागेको छ । नियमनकारी निकायले सार्वजनिक गरेको तथ्यांक अनुसार ब्रेकसायर हाथवेले २०.०४ प्रतिशत शेयर स्वामित्वबाट घटाएर १९.९२ प्रतिशतमा झारेको छ । जसबाट कम्पनीले ४७ मिलियन डलर कमाएको छ । कम्पनीले १० लाख ३३ हजार कित्ता शेयर बिक्री गरेको थियो । अगष्ट २४मा कम्पनीले प्रतिकित्ता हङकङ मुद्रा २७७ मा शेयर बिक्री गरेको थियो ।

हङकङको कम्पनी एभरब्राइट सेक्युरिटिजमा सेक्युरिटी रणनीतिकारका रुपमा काम गरिरहेका केनी एनजीका अनुसार आगामी दिनमा हाथवेले अझ बढी सेयर बिक्री गर्न सक्ने देखिएको छ । वाङले सञ्चालन गरिरहेको कम्पनीको प्राइस टु अर्निङ रेसियो ७४ प्रतिशतले बढेको छ । हाथवे कम्पनीले एक दशकअघि २२५ कित्ता सेयर २३० मिलियन डलरमा खरिद गरेका थिए । हाल बीवाईडी कम्पनी चीनमा शीर्ष स्थानको विद्युतीय कार निर्माता कम्पनी बन्न सफल भएको छ । बीवाईडीले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार कम्पनीले हालै आफ्नै ब्याट्री उत्पादन गरिरहेको छ । साथै आफ्नै अटो पार्टस समेत उत्पादन गरिरहेको छ ।

कम्पनीले सन् २०२२ को पहिलो ६ महिनामा विश्वभर ६ लाख ४१ हजार ३५० वटा कार बिक्री गरिसकेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३१५ प्रतिशतले बढी बिक्री हो । जसले कम्पनीको आम्दानी ६५.७ प्रतिशतले बढेर १५०.६ बिलियन युआन पुगेको छ । जुन २१.८ बिलियन अमेरिकी डलर बराबर हो । साथै, कम्पनीको खुद आम्दानी २०० प्रतिशतभन्दा बढीले बढेर ५३० मिलियन डलर पुगेको छ ।

चीनको सेनजेनमा रहेको कम्पनी मर्निङस्टार इक्विटी रिसर्चका विश्लेषक भिन्सेन्ट सनका अनुसार बीवाईडी कम्पनीको लक्ष्य प्रतिसेयर ३१५ हङकङ मुद्रा पुर्याउनु थियो । उनले हाथवे कम्पनीले सन् २००७ मा पेट्रो चाइना कम्पनीको सेयर बिक्री गर्दा पनि यस्तै अवस्था आएको बताए ।

सहसंस्थापक वाङले सन् १९९५ मा ब्याट्री निर्माताका रुपमा परिचित छन् । र, उनी सन् २००३ देखि अटो क्षेत्रमा प्रवेश गरेका थिए । वाङसँग अहिले बीवाईडी कम्पनीको १७.६ प्रतिशत सेयर स्वामित्व छ । जुन आजका दिनमा २२.२ बिलियन डलर बराबरको सम्पत्ति हो । एजेन्सी