कति छ नेपाल आयल निगमको घाटा ?
वि.सं.२०७९ भदौ १७ शुक्रवार ०९:५७
shares

काठमाडौं, १७ भदौ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य गत रातिदेखि लागू हुने गरी फेरि बढायो । भारतबाट घटेर आउँदा निगम घाटामा रहेको भन्दै नघटाएको निगमले बढेर आउने वित्तिक मूल्य समायोजन भन्दै मूल्य बढायो ।
उताबाट बढेर आएको समयमा सधै बढाउने र घटेर आउँदा पनि घाटामा रहेको कारण देखाएर नघटाउने निगम कसरी घाटामा गएको छ भन्ने विषय नै गम्भिर रुपमा उठिरहेको छ । डिजेल र मट्टितेलको मूल्य बढाए पनि निगमले मासिक ६१ करोड घाटामा रहेको बताउँदै आएको छ । केटिएम भ्वाइससँग कुरा गर्दै नेपाल आयल निगमका प्रवक्रा विनितमणि उपाध्यायले अहिले पनि निगम मासिक ६१ करोड घाटामा रहेको बताए ।
अहिले नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ ७ पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । मट्टितेलमा भने निगम नाफामा रहेको उनले जानकारी दिए । निगमले अझै पनि पेट्रोलियम पदार्थ खरिद बापतको करिब २१ अर्ब रुपैयाँ आईओसीलाई तिर्न बाँकी रहेको छ ।
निगमले विहीबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टिीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । बढेको मूल्य अनुसार डिजेल र मट्टितेलको १७८ रुपैयाँ पुगेको छ । भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूची अनुसार नेपालले पनि इन्धनको मूल्य समायोजन गर्दै आएको छ । भारतबाट मूल्य बढेर आएको बेला बढाउने र घटेर आएको बेला घटाउने गरी स्वचालित मूल्य प्रणाली लागू गरिए पनि आयल निगमले त्यसको पालना गरेको छैन । यसअघि मूल्य घटेर आउँदा नघटाएको र अहिले बढेर आएको भन्दै बढाएपछि नेपाल आयल निगमको आलोचना भएको छ ।
अहिले नेपालमा स्वचालित मूल्य प्रणाली लागू नै हुन नसेकेको निगमका प्रबन्ध निर्देशक उमेश प्रसाद थानीले बताउँदै आएका छन् । केही दिन अघिमात्रै उनले पत्रकार सम्मेलन गरेर भारतबाट बढेर आउँदा बढ्ने र घटेर आउँदा घट्ने कुरा मात्रै स्वचालित मूल्य प्रणाली नभएको बताएका थिए ।



















