धनुषामा एक साधुले उमारे आफ्नै शरीरमा जमरा
वि.सं.२०७९ असोज १५ शनिवार २१:४८
shares

जनकपुरधाम, १५ असोज । धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मिथिलेश्ववर मौवाहीमा साधुले खाल्डो खनी सुतेर त्यसमाथि जमरा उमोरेका हुन् ।
उनले आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका छन् । सप्तरी सदरमुकाम राजविराज घर भएका ३६ बर्षीय मनोज कुमार देशमा सुख र शान्तिको कामना गर्दै निराहार ब्रत बसेका छन् र शरीरमा जमरा उमारेका हुन् ।
‘यो देश नेपाल ऋषिमुनीहरुको देश हो । प्रत्येक दशैँमा ऋषिहरुले यस किसिमको तपस्या गर्ने गर्थे,’ मनोजले भने, ‘अहिले बन्द भएको अवस्था छ । अरुले नगरेपनि म देश र सबै जनताको नाममा यो तपस्या गरिरहेको छु ।’
साधु मनोजकुमार भन्छन्, ‘ऋषिमुनीले देश र समाजका लागि सोंच्थे, त्यही भएर त्यो बेला देशको अवस्था ठीक रहन्थ्यो, तर, अहिले देशका लागि कसैले सोच्दैनन् । सबै आफ्नो लागि मात्रै सोंच्ने गर्छन् ।’
उनले लगातार २३ बर्षदेखि दशैंमा यसरी जमरा उमार्दै आएको बताए । भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको साधु मनोज कुमारले बताए । देशका पूर्वजले आफ्नो शरीरमा दुःख, कष्ट गरी अरुलाई सुख दिँदै आएपनि अहिले त्यो क्रम हराइसकेको भन्दै साधु मनोज कुमारले तपस्याको अर्थ नै आफूलाई दुःख दिएर अरुलाई सुख दिनु भएको बताए ।



















