Dhulikhel Eco Banner new

उम्मेदवारी दर्तासँगै निर्वाचनको बढ्यो चहलपहल

5.4K
shares

काठमाडौं, २४ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै महोत्तरीमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । आइतबार दल र स्वतन्त्र उम्मेदवारले मनोनयनयनपत्र दर्ता गराएसँगै यहाँको राजनीतिक माहोल तताएको हो ।

जिल्लामा विभिन्न दलका उपल्लो तहका नेताको उम्मेदवारीले राजनीतिक माहोललाई झनै तताएको छ । महोत्तरी–३ मा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जसपा हरिनारायण यादव, महोत्तरी–१ मा नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, महोत्तरी–२ मा शरतसिंह भण्डारी, महोत्तरी–४ मा जसपा डा सुरेन्द्रकुमार यादव र नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराएका छन । त्यसैगरी नेकपा एमालेका रामदयाल मण्डल र सरोज यादवले क्रमशः महोत्तरी–३ ‘ख’ र महोत्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन ।

जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमा गरी जम्मा दुई सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये महोत्तरी–१ प्रतिनिधिसभातर्फ १६ र दुईवटा प्रदेशसभातर्फ ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन । महोत्तरी–१ कमा १६ र महोत्तरी–१ खमा २३ जना प्रदेशसभाका उम्मेदवार दर्ता भएका निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–१ बर्दिबासले जनाएको छ ।

यसैगरी महोत्तरी–२ मा प्रतिनिधिसभातर्फ १७ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ महोत्तरी–२ ९क० मा २० र खमा २१ जनाको दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–२ बलवाका निर्वाचन अधिकृत अरुण झाले जानकारी दिए । त्यस्तै महोत्तरी–३ मा प्रतिनिधिसभातर्फ २१ जना र प्रदेशसभातर्फ क मा १३ र ख मा २८ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए । महोत्तरी–४ का लागि प्रतिनिधिसभातर्फ १५ र प्रदेशसभातर्फ क मा २६ र ख मा २० जनाको उम्मेदवारी दर्ता भएको सो क्षेत्रका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए ।