Dhulikhel Eco Banner new

वैदेशिक रोजगार बीमा : एक महिनामा साढे ३१ करोड बीमा शुल्क संकलन

5.97K
shares

काठमाडौं, २६ असोज । बीमा कम्पनीहरुले भदौ महिनामा साढे ३१ करोड बढीको वैदेशिक रोजगार बीमा गराएका छन् । कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा ३१ करोड ६८ लाख ७२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

यो चालू आर्थिक वर्षको पहिलो महिनाकोभन्दा २९.०६ प्रतिशले बढी हो । साउन महिनामा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुबाट बीमा कम्पनीहरुले २४ करोड ५४ लाख ८५ हजार रूपैयाँ संकलन गरेका थिए । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको दोस्रो महिनामा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले भदौ महिनामा १४ करोड ९२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै सूर्या लाइफले ६ करोड ३५ लाख ३ हजार रुपैयाँको वैदेशिक रोजगार बीमा गराएको छ । त्यस्तै ज्योति लाइफले ३ करोड ४ लाख ३६ हजार, सानिमा लाइफले २ करोड ८५ लाख ३२ हजार, सिटिजन लाइफले २ करोड ३१ लाख ३८ हजार, रिलायवल लाइफको २ करोड १२ लाख ७९ हजार र आइएमई लाइफको ९८ लाख ९३ हजारको वैदेशिक बीमा शुल्क संकलन गरेका छन् ।

यो अवधिमा सन नेपालले ३४ हजार २१६ वटा बीमालेख जारी गरेको छ । त्यस्तै सूर्या लाइफले १६ हजार ८९, ज्योतिको ७ हजार ४०३, सानिमाको ६ हजार ७७०, सिटिजन लाइफले ५ हजार ६८५, रिलायबल लाइफले ३ हजार ३५८ र आइएमई लाइफले २ हजार ५४६ वटा बीमालेख जारी गरेका छन् ।

कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख जारी गरेर भदौ महिनासम्म ५६ करोड २३ लाख ५६ हजार रुपैयाँ संकलन गरेको समितिको तथ्यांकमा उल्लेख गरिएको छ । जीवन बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरूबाट प्राप्त कार्यविधि बोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रूपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो ।

सोही व्यवस्था बमोजिम कम्पनीहरूको सहमतिअनुसार पुल प्रणालीमार्फत बीमालेख जारी हुँदै आएको थियो । बीमा कम्पनीहरूले २०७५ माघ १ गतेदेखि बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका थिए । तर, बीमा समितिले यहि साउन १ गतेदेखि लागू हुने गरी ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेको छ ।

समितिको उक्त निर्णयबमोजिम साउन महिनादेखि सबै बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेख जारी गर्न सक्नेछन् । सबै कम्पनीहरूले उक्त बीमालेख जारी गर्न सक्ने भएपनि ९ वटा कम्पनीले मात्रै बीमालेख जारी गर्दै आएका छन् ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । कानूनमा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बैदेशिक रोजगारीमा जाने नेपालीहरूको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था रहेको छ ।