Dhulikhel Eco Banner new

वस्तु निर्यातमा करिब ३५ प्रतिशतले कमी, आयात पनि १३ प्रतिशतले घट्यो

5.32K
shares

काठमाडौं, ४ कात्तिक । चालु आर्थिक वर्षको दुई महिनामा नेपालबाट निर्यात हुने वस्तुमा करिब ३५ प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनामा ३४.९ प्रतिशतले कमी आएको हो ।

नेपालले दुई महनाको अवधिमा नेपालले २८ अर्ब ६८ करोडको वस्तु निर्यात गरेको गरेको छ । अघिल्लो वर्षको समिक्षा अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो । यो अवधिमा नेपालबाट भारत तथा चीन तर्फको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमी आएको छ । अन्य मूलुक तर्फको निर्यातमा पनि १३.२ प्रतिशतले कमी आएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु आयातमा समेत १३ प्रतिशतले कमी आएको छ । यो अवधिमा नेपालले २७३ खर्ब ६० करोड रुपैयाँको वस्तु आयात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ७५.९ प्रतिशतले वृद्धि भएको थियो ।

आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत, १३.३ प्रतिशत र २०.७ प्रतिशतले कमी आएको देखिएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले कमी आएको छ । यो अवधिमा २४४ अर्ब ९२ करोडको व्यापार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.० प्रतिशत रहेको थियो ।