देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा खर्च गरिने
वि.सं.२०७९ कात्तिक ९ बुधवार १०:२५
shares

काठमाडौं, ९ कात्तिक । हिन्दूहरुको दोस्रो महान् पर्व तिहार यति बेला तपाई हाम्रो घर आँगनमा भित्री सकेको छ । तिहार भन्ने बित्तिकै दाजु भाइ र दीदी बहिनीको सम्बन्धलाई बलियो बनाउने र दिदी बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्ने पर्व हो । तिहारमा खेलिने देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा लगाउन सके राम्रो हुने नागरिकको सुझाव छ ।
कैलालीको टीकापुरमा मन्दिर निर्माणका लागि देउसी भैलो खेल्न थालिएको छ । टीकापुरमा निर्माणाधीन अवस्थामा रहेको बैंकटेश्वर लक्ष्मी नारायण मन्दिर निर्माणका लागि १५ जनाले टोली बनाएर देउसी भैलो खेल्न थालेका छन् ।
“हामी आफैँ मिलेर मन्दिर निर्माण गरिरहेका छौँ । मन्दिर निर्माणमा सहयोग हुनुका साथै पर्व र संस्कृतिको समेत जगेर्ना हुन्छ”, मन्दिर निर्माण समितिका सचिव रत्नप्रसाद पोख्रेलले भने, “देउसी भैलोमा बच्चादेखि वृद्धसम्म सहभागी छौँ । उठेको सबै रकम मन्दिर निर्माणमा खर्च गर्छौँ ।”



















