Dhulikhel Eco Banner new

तीन महिनामा करिव १२ लाख राजश्व सङ्कलन

5.15K
shares

काठमाडौं, ९ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालू आर्थिक वर्षको हालसम्म झण्डै रु १२ लाख राजस्व सङ्कलन गरेको छ । तीन महिनाको अवधिमा एक हजार सात सय सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार राजस्व सङ्कलन गरेको हो । सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम टिपर कारबाहीमा परेका छन् । पाँच सय २३ मोटरसाइकल र दुई ४२ टिपर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार ट्र्याक्टर तीन सय २३, जीप तीन सय १० र दुई सय ८३ वटा बस कारबाहीमा परेका छन् । मोटरसाइकलबाट तीन लाख ६२ हजार, ट्र्याक्टरबाट दुई लाख ३० हजार पाँच सय, जीपबाट दुई लाख १३ हजार पाँच सय, बसबाट एक लाख ८७ र ट्रिपरबाट एक लाख ७४ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको केसीको भनाइ छ । उनले चालकलाई कारबाहीभन्दा बढी सचेत गराएको हुँदा राजस्व कम सङ्कलन भएको बताए।

“हामीले चालकलाई कारबाहीभन्दा पनि सचेत गराउने गरेका छौँ, पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि चिट काट्ने हो, सचेत नबनाइ जरिवाना गरेको भए यसको डबल राजस्व सङ्कलन हुन्थ्यो, हामी चालकलाई जिम्मेवार बनाउनुपर्छ भनेर लाग्यौँ” उनले भने,“बागलुङको ट्राफिक व्यवस्थासमेत सुधार भएको हुँदा पछिल्लो समय कारबाहीमा कम पर्नु हुन्छ ।”

गत साउनदेखि हालसम्म जिल्लामा चार सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर र ६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख छ । यो अवधिमा एक सय तीन पटक ट्राफिक सचेतना कार्यक्रम गरेको प्रमुख केसी बताए ।