Dhulikhel Eco Banner new

करिब १५ अर्बको आईपीओ पाइपलाइनमा

5.98K
shares

काठमाडौं, १२ कात्तिक । नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्नका लागि आवेदन दिने कम्पनीको संख्याको ३५ पुगेको छ । आईपीओ जारी गर्नका लागि उक्त कम्पनीले धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा रहेका छन् । ती कम्पनीहरुले १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमति मागिरहेका हुन् ।

बुक विल्डिङ मार्फत आइपीओ जारी गर्न लागेको कम्पनीलाई समेत गणना गर्ने हो भने यो रकम अझै बढी हुने देखिन्छ । आवेदन दिने आधा दर्जन बढी कम्पनीहरुको आइपीओ स्वीकृत हुने अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । आइपीओ निष्कासन गर्नेमा धेरै हाइड्रोपावर कम्पनीहरु रहेका छन् । आइपीओ निष्कासनको तयारीमा रहेका ३५ कम्पनीमध्ये २० वटा त हाइड्रोपावर कम्पनी मात्रै रहेका छन् ।

आइपीओ जारी गर्ने अनुमति मागेका कम्पनीमा २ वटा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेका छन् । यस्तै सर्बोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ माध्यमबाट आइपीओ जारी गर्ने तयारीमा छन् । अन्यले भने एक सय रुपैयाँ अंकित दरमा नै आइपीओ बिक्रीमा ल्याउने छन् ।

धितोपत्र बोर्डमा एक वर्ष अघिदेखि आईपीओ जारी गर्न स्वीकृति मागेका कम्पनीहरुले समेत अझै आइपीओ निष्कासनको अनुमति पाउन सकेका छैनन् । आईपीओ जारी गर्ने अनुमति पाउने वित्तीकै बिक्रीमा ल्याउने योजनामा कम्पनीहरु देखिएका छन् । पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।

अहिले डिम्याट खाताको सँख्या ५४ लाख बढी पुगेको छ । हरेक आईपीओमा १५ लाख बढीले आवेदन दिने गरेका छन् । जसले गर्दा कम्पनीहरुले बिक्रीमा ल्याउने आइपीओ सहजै बिक्री हुने गरेको छ । अहिले दोस्रो बजारमा खरिदकर्ता न्यून देखिएपनि आइपीओमा भने लगानीकर्ताको आकर्षण कायमै रहेको देखिन्छ। राम्रा कम्पनीको १० कित्ता आइपीओ पर्दा पनि छोटो समयमानै मनग्य आम्दानी गर्न सकिने भएकोले पनि आइपीओमा आकर्षण कायमै रहेको छ ।

तिहारपछि धितोपत्र बोर्डले अनुमति दिएपछि धेरै कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्ने छन् । तिहारको पैसा जोगाएर आइपीओमा लगानी गर्दा समेत त्यसमा राम्रो मुनाफाको अवसर आउन सक्छ । यस्तै बाराही हाइड्रोपावरले आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हाल उक्त हाइड्रोपावरले स्थानीयमा आइपीओ बिक्री गरिरहेको छ । भने स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि सर्वसाधारणको लागि आइपीओ बिक्री खुल्ला गर्ने छ ।