Dhulikhel Eco Banner new

चुनाव अघिको अन्तिम साता ४३ अंकले बढ्यो शेयर बजार

4.77K
shares

काठमाडौं, ३ मंसिर । संघ र प्रदेशको चुनाव हुनुभन्दा अघिको अन्तिम कारोबार सातामा नेप्से परिसूचकमा सुधार देखिएको हो । आइतबार हुने चुनाव अघिको अन्तिम कारोबार सातामा नेप्से ४३ दशमलव १५ अंकले बढेको हो ।

अब शेयर बजार कारोबार चुनाव सकिएपछि सोमबारदेखि मात्रै हुने छ । गत हप्ता १९९३ दशमलव ७० विन्दुमा रोकिएको कारोबार यो साता भने २.२८ प्रतिशत अर्थात ४३ दशमलव १५ अंकले बढेर १९३६ दशमवल ८३ विन्दुमा पुगेको छ । यो साताको पाँच कारोबार दिनमध्ये तीन कारोबार दिनमा बजार बढेको थियो भने दुई दिन घटेको थियो ।

यस साता क वर्गका कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स २.३३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ प्रतिशत बढेको छ । नेप्से परिसूचक बढेपनि यस साता दैनिक औषत कारोबार रकममा भने गिरावट आएको छ । गत साता दैनिक औषतमा १ खर्ब ४५ करोडको शेयर खरिदबिक्री भएको थियो । यस साता दैनिक औषतमा १ अर्ब ६ करोडको शेयर कारोबार भएको छ ।

त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या २३.५२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १९.२२ प्रतिशत बढेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि २ प्रतिशतभन्दा बढी बढेको छ । गत साता २७ खर्ब २३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता ६२ अर्ब रुपैयाँ बढेर २७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ ।

यस साता १३ वटै उपसमूहको परिसूचकमा सुधार भएको छ । यो साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशत बढेको छ । गत साता १५२७.५३ विन्दुमा बन्द यो उपसमूहको परिसूचक यस साता ६८.३३ अंक बढेर १५९५.८६ विन्दुमा पुगेको छ । सबैभन्दा कम भने लघुवित्त उपसमूहको परिसूचक ०.०१ प्रतिशतले मात्रै बढेको छ ।

अंकका आधारमा यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै बढेको छ । गत साता ४९०६.२४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २०२.१६ अंक बढेर ५१०८.४० विन्दुमा पुगेको छ ।