पाँच मन्त्री पराजित, गृहमन्त्री पनि रेड जोनमा
वि.सं.२०७९ मंसिर १० शनिवार ११:३१
shares

काठमाडौं, १० मंसिर । मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । हालसम्म १४६ निर्वाचन क्षेत्रको मतपरिणाम सर्वाजनिक भएको हो ।
अहिलेसम्म सर्वाजनि भएको मत परिणाम अनुसार अधिकांश शिर्ष नेताहरु विजयी भएका छन् । पार्टीको प्रमुख भएर पनि चुनाव जित्न नसक्नेमा उम्मेदवार उपेन्द्र यादव हुन् । सत्तारुढ गठबन्धनमा रहेका अधिकांशी शिर्ष नेता विजयी हुँदा मन्त्री भएर चुनावी मैदानमा रहका ५ जना उम्मेदवार भने पराजित भएका छन् ।
पराजित हुने मन्त्रीहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन् ।
नेकपा माओवादी केन्द्रकी नेतृ भुसाल स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग पराजित भइन् । उनी ललितपुर क्षेत्र नम्बर ३ मा तेस्रो स्थानमा रहिन । उनले ७ हजार ८६९ मत प्राप्त गर्दा कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्दै विजयी भइन् ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज बाँके क्षेत्र नम्बर १ मा एमालेका सूर्य प्रसाद ढकालसँग पराजित भए । मन्त्री गहतराजले १९ हजार ६३२ मत प्राप्त गरे भने एमालेका ढकालले २५ हजार २६ मत प्राप्त गरे । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वभक्त श्रेष्ठसँग पराजित भए । यो क्षेत्रमा मन्त्री श्रेष्ठ तेस्रो स्थानमा खुम्चिए । उनले ४ हजार १८१ मत प्राप्त गरे भने रास्वपाका श्रेष्ठले १० हजार ११२ मत प्राप्त गरे ।
त्यस्तै खानेपानी मन्त्री उमाकान्त चौधरी पनि यो निर्वाचनमा जनताबाट अस्वीकृत भएका छन् । उनी बारा क्षेत्र नम्बर १ मा अच्युत प्रसाद मैनालीसँग पराजित भए । मन्त्री चौधरीले ३० हजार ५६ मत ल्याए भने मैनालीले ३९ हजार ९९५ मत ल्याएर विजयी भए ।
त्यस्तै पराजित हुने मन्त्रीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि समावेश भए । उनी चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवी लामिछानेसँग पराजित भए । श्रेष्ठले १४ हजार ९८३ मत ल्याउँदा लामिछानेले ४९ हजार २६४ मत प्राप्त गरे ।
त्यस्तै मतगणना भइरहेको रुपन्देहीको क्षेत्र नम्बर–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछाडि परेका छन् । यो क्षेत्रमा गृहमन्त्री खाँड राप्रपाका दीपक बोहरासँग पछाडि परेका हुन् ।



















