बीमा कम्पनीले आईपीओ जारी गर्नु अघि प्राधिकरणबाट स्वीकृति लिनु पर्ने
वि.सं.२०७९ मंसिर २० मंगलवार ०९:२१
shares

काठमाडौं, २० मंसिर । बीमा कम्पनीहरुले आईपीओ जारी गर्नु अघि बीमा प्राधिकरणबाट स्वीकृति लिनु पर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा आईपीओ जारीका लागि आवेदन दिनु अघि बीमा प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनु पर्ने भएको हो ।
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आईपीओमा जानु अघि प्राधिकरणको सहमति अनिवार्य लिन निर्देशन दिएसँगै अब आईपीओ जारी गर्नु अघि प्राधिकरणका बाट स्वीकृति लिनु पर्ने भएको हो । धितोपत्रको निष्कासन गर्ने अधिकार धितोपत्र बोर्डको भएपनि आईपीओ जानुअघि प्राधिकरणको सहमति लिनुपर्ने प्राधिकरणले जनाएको छ ।
सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये ५ वटा जीवन बीमा कम्पनीहरुले आईपीओ जारी गरेका छैनन् । आईपीओ जारी गर्न बाँकी बीमा कम्पनीमा सिटिजन लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ र सन नेपाल लाइफ रहेका छन् । अब यी कम्पनीले आईपीओ जारी गर्नका लागि प्राधिकरणबाट स्वीकृति लिनु पर्ने भएको हो ।
बीमा ऐन, २०७९ को दफा ४५ मा विवणपत्र तथा शेयर निष्कासनसम्बन्धी व्यवस्था छ । जसमा बीमकले धितोपत्रको सार्वजनिक निष्कासन गर्नुअघि प्रचलित कानून बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराएको विवरणपत्र प्राधिकरण समक्ष पेश गर्नुपर्ने उल्लेख छ ।
विवरणपत्र पेस नगरेसम्म सो बीमक वा निजको तर्फबाट कसैले पनि त्यस्तो विवरणपत्र प्रकाशन गर्न नपाउने उल्लेख छ । यस्तै, बोर्डबाट विवरणपत्रमा स्वीकृत प्रदान गरेको लिखित जानकारी प्राधिकरणलाई प्राप्त नभएसम्म प्राधिकरणले त्यस्तो विवरणपत्र दर्ता नगर्ने समेत व्यवस्था ऐनले गरिदिएको छ ।















