नयाँ ऐनले बीमा क्षेत्रका समस्यालाई सम्बोधन गरेको छ : अध्यक्ष सिलवाल
वि.सं.२०७९ मंसिर २७ मंगलवार १६:२७
shares

काठमाडौं २७ मंसिर । नयाँ बीमा ऐनले सो क्षेत्रका समस्याहरुलाई सम्बोधन गरेको बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवलाले बताएका छन् । वीरगञ्जमा आयोजना गरिएको बीमा सम्बन्धी समासामयिक विषय अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवाले बीमा ऐन, २०७९ ले यो क्षेत्रमा धेरै समस्यालाई सम्बोधन गरेको बताएका हुन् ।
‘ऐनले नेपाल बीमा प्राधिकरणलाई बढी स्वायत्तता प्रदान गरेकाले अब बीमा सम्बन्धी सबै विषयमा प्राधिकरणले सोही अनुसारको अभ्यास गर्छ,’ उनले भने । सो अवसरमा अध्यक्ष सिलवालले बीमा सम्बन्धी सबैजसो कार्य प्रदेश तथा शाखा कार्यालयबाटै गर्नका लागि समेत कम्पनीहरुलाई निर्देशन दिएका छन् ।
अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई प्रदेश तथा शाखा कार्यालयहरुलाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न, बीमा दाबी भुक्तानी समेत प्रदेश तथा शाखा कार्यालयबाट नै गर्ने व्यवस्था गर्न र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न समेत निर्देशन दिइसकेको जानकारी दिए । अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरुबाट बीमकको अनुगमन, निरीक्षण तथा नियमनका साथै प्राधिकरणबाट हुने अधिकांश कार्य हुने भएकाले काम छिटोछरितो हुनुका साथै सेवाग्राहीको समय समेत बचत हुने बताए ।



















