Dhulikhel Eco Banner new

दुई सरकारी बैंकको लाभांश घोषणा, रावाले साढे ७ र नेपाल बैंकले १० प्रतिशत नगद लाभांश दिने

5.07K
shares

काठमाडौं, ९ पुस । सरकारी स्वामित्वमा रहेका दुई बैंकले लाभांश प्रस्ताव गरेका छन् । दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेका हुन् । दुवै बैंकले प्रस्ताव गरेको लाभांश आगामी साधारण सभाबाट पास भएपछि शेयर धनिहरुले प्राप्त गर्ने छन् ।

लाभांश पास गर्ने उद्देश्यले यी दुइ बैंकको साधारण सभा पुसका अन्तिममा बोलाइएको छ । दुई बैंकको साधारण सभा एक दिनको अन्तरमा आयोजना हुनेछ । वाणिज्य बैंकको साधारण सभा २८ पुसमा आयोजना हुदैछ भने एक दिन पछि २९ पुसमा नेपाल बैंकको साधारण सभाको मिति तोकिएको छ ।

वाणिज्य बैंकले २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ७.५० प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारण सभाबाट पारित भएपछि शेयर धनीले पाउने छन् । गत असार मसान्तसम्ममा वाणिज्य बैंकको चुक्ता पुँजी १३ अर्ब ९४ करोड तीन लाख ५९ हजार ९९ बराबर रहेको छ ।

उक्त चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख २६ हजार ९०० बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, बैंकका शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतले हुने आउने ६९ करोड ७० लाख १७ हजार ९५४ बराबर बोनस शेयर लाभांश दिने सञ्चालक समितिको प्रस्ताव छ ।

त्यस्तै, नेपाल बैंकले गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । गत असार मसान्तसम्ममा नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख चार हजार ८३१ रुपैयाँ रहेको छ । चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्दा बैंकले १ अर्ब ४४ करोड ५ लाख ९० हजार ४८३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै २ प्रतिशतका दरले हुन आउने २८ करोड ८१ लाख १८ हजार ९६ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा लगिदै छ ।