नेप्सेमा सामान्य वृद्धि, परिसूचक २१४९ विन्दुमा
वि.सं.२०७९ पुस ३० शनिवार ११:२६
shares

काठमाडौं, ३० पुस । पुस महिनाको अन्तिम हप्ताको कारोबारमा नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । गत हप्ताको तुलनामा यो हप्ता शेयर बजार परिसूचक ५ दशमलव ४६ अंकले बढेको हो । गत साता २१४३ दशमलव ९३ विन्दुमा कारोबार रोकिएको शेयर बजारमा यो साताको कारोबार बन्द हुदा २१४९ दशमलव ३९ विन्दुमा पुगेको हो ।
यो साताका ४ कारोबार दिनमा समान दुई दिन नेप्से बढेको थियो भने दुई दिन घटेको थियो । साताको पहिलो र दोस्रो दिन सकारात्मक देखिएको परिसूचक अन्तिम दुई कारोबार दिन भने घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव १६ अंक बढेको छ ।
यो हप्ता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ८० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको छ । हप्तामा दैनिक औषत कारोबार रकम गत साताको तुलनामा ५७.२३ प्रतिशत बढेको हो । त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ६४.५७ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजारमा पुँजीकरण गत साताको तुलनामा ०.०५ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता सामन्य बढेर ३१ खर्ब ३ अर्ब पुगेको छ । यो साता १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ । यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.२८ प्रतिशत बढेको छ । गत साता १४.०३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ४.२८ प्रतिशत बढेर १४.६३ विन्दुमा पुगेको छ । त्यसैगरी, यस साता जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६१ प्रतिशत घटेको छ । गत साता ५६१०.२५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५३.१५ अंक घटेर ५३५७.१० विन्दुमा झरेको छ । यस साता सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक ३८.२१ प्रतिशत बढेको छ । त्यसैगरी, यस साता हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य २५ प्रतिशत बढेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे १९ प्रतिशत बढेको छ ।



















