माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाट
वि.सं.२०७९ माघ २६ बिहीवार १२:१७
shares

काठमाडौं, २६ माघ । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले निष्काशन गरेको आईपीओ बिहीबार बिहान बाँडफाँट गरिएको हो ।
कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । सोही अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट एक लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
माया खोला हाइड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीको लागि आईपीओ निष्कासन गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ करोड बराबरको ३४ लाख कित्ता साधारण सेयरमध्ये निष्कासन गगर्ने अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० प्रतिशतले हुने १० करोड बराबरको १० लाख रुपैयाँ कित्ता सेयर निष्कासन गरेको थियो ।



















