दुर्गा प्रसाई र व्यवसायीको आन्दोलन फरक हो : संयोजक कटुवाल
वि.सं.२०७९ फागुन २४ बुधवार १७:२४
shares

काठमाडौं, २४ फागुन । बैंकको ब्याजदर विरुद्ध संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले दुर्गा प्रसाईले नेतृत्व गरेको आन्दोलन र व्यवसायी संगठनहरुले गरेको आन्दोलन फरक भएको बताएका छन् । संयोजक कटुवालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय प्रसाईले नेतृत्व गरेको आन्दोलन र नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा संघ संस्थाहरुले संयुक्त रुपमा गरेको आन्दोलन फरक रहेको बताएका हुन् ।
उनले दुर्गा प्रसाईले गरेको आन्दोलनमा उठाएका केही माग मिल्न गएकाले एउटै आन्दोलन भन्न नमिल्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । संयोजक कटुवालले नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा संघ संस्थाहरुले संयुक्त रुपमा गरेको आन्दोलन बैंकको ऋण नतिर्न र बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्नको लागि नभएको पनि प्रष्ट पारेका छन् । ‘व्यवसायीहरुले उच्च रुपमा बृद्धि भएको बैंकको ब्याजदर एकल विन्दुमा बनाउन र तत्काल तिर्नु पर्ने किस्ता बजारमा तरलता लगायत व्यापारमा आएको मन्दीको कारण केही समय थप्न माग गर्दै आन्दोलन गरीएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
व्यवसायीको आन्दोलन र प्रसाईको आन्दोलनसँग जोडेर नहेर्न पनि उनले सरकारलाई आग्रह गरेका छन् । ‘प्रसाईको आन्दोलनमा व्यवसायी महासंघहरुको कुनै पनि संग्लनता र समर्थन नभएको जानकारी गराउँद छु, ‘व्यवसायी महासंघहरुले बैकिङ प्रणाली विरुद्धमा र ऋण नतिरे पनि हुन्छ भनेर आन्दोलन नगरेको जानकारी यसै विज्ञप्तिमार्फत दिन चाहन्छु,’ संयोजक कटुवालले भनेका छन् ।
वास्तविक व्यवसायीले उठाएका मागहरु सम्बोधन गर्ने विषयमा सरकारले ध्यान नदिएको उनको आरोप छ । बैंकको उच्च ब्याजदर एक बिन्दुमा ल्याउनु पर्ने माग र धितो लिलामी गर्न नपाउने तथा पत्रपत्रिकामा फोटो राख्न नपाउने माग राख्दै सडक आन्दोलनमा रहेका व्यवसायीहरुलाई सरकारले वास्ता नगरेको भन्दै पहुँचवाला उद्योगी व्यवसायीहरुलाई मात्रै बोलाउनु राम्रो नभएको उनको भनाइ छ ।



















