Dhulikhel Eco Banner new

तीन दिनमा ३३ अंकले बढ्यो नेप्से, औसत कारोबार रकममा भने गिरावट

6.6K
shares

काठमाडौं, २७ फागुन । यो साता नेप्से परिसूचक बढेको छ । सातामा तीन दिन मात्रै कारोबार भएको शेयर बजारमा ३३ दशमलव ६८ अंकले वृद्धि भएको हो । गत साथा १९६९ दशमलव ०२ अंकमा कारोबार बन्द भएको थियो । यो साताको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक २००२ दशमलव ७० विन्दुमा पुगेको छ । यो गत हप्ताको भन्दा १.७१ प्रतिशतले बढी हो ।

पाँच दिन कारोबार हुनु पर्ने सातामा दुई दिन सार्वजनिक विदा परेकाले तीन दिन मात्रै कारोबार भएको थियो । जसमध्ये दुई दिन नेप्से बढेको थियो भने १ दिन भने घटेको थियो । साताको अन्तिम दिनको कारोबारमा बैंकका ब्याजदर घट्ने समाचारले प्रभाव पारेको थियो । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदरमा ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने बताए पछि शेयर बजारमा हरियाली देखिएको थियो ।

यो हप्ता सेन्सेटिभ इण्डेक्स पनि १.५९ प्रतिशत बढेको छ । त्यस्तै फ्लोट इण्डेक्स १.७९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५५ प्रतिशत बढेको छ ।

यो हप्ता नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । गत हप्ता दैनिक औषतमा १ अर्ब ६९ करोडको शेयर खरिदबिक्री भएको थियो भने यो हप्ता दैनिक औषतमा १ अर्ब ३९ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकममा १७.७२ प्रतिशतको गिरावट भएको छ । त्यस्तै दैनिक औषत कारोबार संख्यामा ९.२३ प्रतिशतले कमी आएको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण बढेको छ । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता १.९८ प्रतिशत अर्थात ५६ अर्ब रुपैयाँ बढेर २९ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

यो साता १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचकमा वृद्धि हुदाँ एक उपसमूहको परिसूचकमा गिरावट देखिएको छ । यो हप्ता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.१४ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३.१० प्रतिशतले बढेको छ । यो साता बढेको परिसूचकमा सबैभन्दा कम अन्य उपसमूहको परिसूचक ०.९४ प्रतिशत बढेको छ । यो साता ऋणात्मक बनेको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.६० प्रतिशतले घटेको छ ।

यस साता नेप्सेमा कुल ९ कम्पनीको १३ करोड ९५ लाख ३७ हजार ५३५.८८ कित्ता शेयर सूचीकृत भएको छ । यस साता ८ कम्पनीको बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।