सबैको लघुवित्तको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, मर्जरको अधिकार सञ्चालक समितिलाई
वि.सं.२०७९ फागुन २७ शनिवार १०:१७
shares

काठमाडौं, २७ फागनु । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । छघुवित्तको छैटौँ साधारणसभा तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर ५ याम्पाफाँटमा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभाले आ.व. २०७८/७९ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम वित्तीय संस्थाको आ.व. २०७८/७९ सम्मको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । लघुवित्तको चुक्ता पुँजी २७ करोडको ०.९५ प्रतिशतले हुन आउने २५ लाख ५७ हाजर ८९४ रुपैयाँ ७४ पैसा नगद लाभांश (बोनश शेयरमा लाग्ने कर वापतको रकम) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

यसै गरी लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्रेष्ठ एण्ड न्यौपाने एशोसियट चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेकोछ । त्यसै गरी विशेष प्रस्तावका रुपमा वित्तीय संस्थाको अधिकृत पुँजी ३० करोडबाट वृद्धि गरी ४० करोड र जारी तथा चुक्ता पुँजी २७ करोडबाट ३१ करोड ८६ लाख पु¥याउने प्रस्ताव पनि सभाबाट पास भएको छ । त्यस्तै वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरुप परिमार्जन वा संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिएको छ ।
लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा मर्जर वा एक्विजिशन गर्ने वा शाखा खरिद गर्न आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालन समिति वा समितिले तोकको ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मतिबाट पारित गरेको छ ।
साधारण सभा संस्थाको सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद जोशीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । सभामा अध्यक्ष जोशीले आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरुले साधारण सभामा आफनो राय, सुझाव पेश गरेका थिए । साधारण सभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
तनहुँ जिल्लाको बन्दिपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न, गरीब, पिछडिएका, शोषित, उत्पिडित, वित्तीय कारोवारको पहुँच नभएका परिवारका महिलाहरुको आर्थिक तथा सामाजिक विकास, जनचेतना विकासको लागि बिना धितो वा धितो लिई सामुहिक जमानीमा कर्जा लगानी गर्दै आई रहेको छ । वित्तीय संस्थाले आफना ग्राहक सदस्यहरुलाई कर्जाको साथसाथै बचत, बीमा र विप्रेषण सेवा पनि प्रदान गर्दै आई रहेको छ ।
वित्तीय संस्थाले आयआर्जन, उद्यमशीलता विकास तथा विस्तारको लागि, वैदेशिक रोजगारमा जानका लागि, उर्जाका उपकरण खरिद गर्नका लागि, घर मर्मत, घडेरी खरिद तथा घर निर्माणका लागि आफना ग्राहक सदस्यहरुलाई कर्जा प्रवाह गर्दै आई रहेको छ । वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई समूह अध्यक्ष गोष्ठी, नेतृत्व विकास तथा वित्तीय साक्षरता तालिम, सीप विकास तालिम, वित्तीय साक्षरता तालिमहरु प्रदान गर्दै आई रहेको छ । वित्तीय संस्थाले देशको सातै प्रदेशमा बसोबास गर्ने ४३ जिल्लाका ७७ हजार २९४ घरपरिवारहरुका ३ लाख ८६ हजार ४७० जनसंख्यालाई ९० वटा शाखाहरुका ६ हजार ९४२ समूहहरु मार्फत ३२३ जना कर्मचारीहरुबाट सरल तथा सुलभ किसिमले लघुवित्त सेवा प्रदान गर्दै आई रहेकोछ ।
वित्तीय संस्थाले चालु आ.व. २०७८/७९ को माघ मसान्तसम्ममा ४ अर्ब २७ करोड २ लाख ३४ हजार ५ सय ५३ कर्जा लगानीमा गरेको छ । सोही अवधिसम्म वित्तीय संस्थाले आफना ग्राहक सदस्यहरुको १ अर्ब ३८ करोड ९१ लाख ३०३ रुपैयाँ बचत परिचालन गरेको छ । वित्तीय संस्थाले गत आ.व. २०७८/७९ मा ६ करोड ८२ लाख ८३ हजार ७५८ रुपैयाँ र १० पैसा खुद मुनाफा गरेको थियो ।



















