माई खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०७९ चैत ९ बिहीवार ११:०२
shares

काठमाडौं, ९ चैत । माई खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि खुल्ला गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २५ गतेदेखि खुला गरेको आईपीओमा बिहीबार साँझसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका लागि र १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुका लागि छुट्याइएको छ । जस अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुले ३ लाख ९२ हजार १५७ कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ लाख ५२ हजार ९४१ कित्ता शेयर निष्काशन गरेको थियो ।
सो शेयरका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना रहेको स्थल, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आश्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।



















