प्राइम, युनियन र गुराँस लाइफकाे संयुक्त मर्जर कमिटीलाई कर्मचारीकाे ज्ञापनपत्र
वि.सं.२०७९ चैत १२ आइतवार १६:४७
shares

काठमाडौं, १२ चैत । मर्जरको अन्तिम तयारीमा रहेका तीन जीवन बीमा कम्पनीका कर्मचारीहरुले संयुक्त मर्जर कमिटीलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् । प्राइम, गुराँस र युनियन लाइफको संयुक्त मर्जर कमिटीलाई प्राइम र गुराँस लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणमा कर्मचारीहरुको वृत्ति विकास लगायतका विषयमा ध्यान दिन आग्रह आग्रह गरिएको छ । तीन कम्पनी मर्जर भएर एकीकृत कारोकार गर्न लागेको अवस्थामा कर्मचारीहरुले संयुक्त मर्जर कमिटीका संयोजक दीपेश अमात्यलाई ७ बुँदे ज्ञापनपत्र बुझाइएको हो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघका अध्यक्ष हरि बहादुर खड्का र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघका अध्यक्ष अर्जुन भट्टले अमात्यलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
दुवै कम्पनीका कर्मचारीहरुको तर्फबाट अघि सारिएको माग पत्रमा सबै कर्मचारीहरुको रोजगारी सुनिश्चित हुनुपर्ने, भिआरएस लागू गर्नुपर्ने, कर्मचारीहरुको समायोजन सम्मानजनक, कर्मचारीहरुले पाउँदै आएको बोनस लगायतका सुविधाहरु कटौति हुन नहुने, विभेद गर्न नहुने लगायतका मागहरु उठाइएको छ ।
कर्मचारीहरुले अघि सारेको ७ बुँदे मागहरु :
१. कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको रोजगारी सुनिश्चित गरिनुपर्ने ।
२. कर्मचारीहरुको सम्मानजनक रुपमा समायोजन गरिनुपर्ने ।
३. कर्मचारीहरुले खाई–पाई आएको तलव भत्ता सुविधा एवं कर्मचारी विनियमावली एवं सामुहिक सौदावाजीको माध्यमबाट प्राप्त हुदै आएका सेवा सुविधा कटौती गर्न नहुने ।
४. मर्जर पश्चात कर्मचारीहरुले पाउने तलव भत्ता सुविधा र अन्य सेवा शर्तमा विभेद गर्न नहुने ।
५. कर्मचारीहरुका लागि सम्मानजनक/न्यायोचित स्वेच्छिक अवकासको योजना ल्याउनुपर्ने ।
६. मर्जर पश्चात कम्पनीको नया“ बन्ने कर्मचारी विनियमावली बनाउंदा कर्मचारी संघको छलफल र सहमतिमा निर्माण गरिनुपर्ने।
७. नेपाल बीमा प्राधिकरणले जारी गरेको कम्पनीहरुको गाभ्ने गाभिने र प्राप्ति गर्ने निर्देशिका र सो संग सम्बन्धित परिपत्रहरुमा व्यवस्था भए बमोजिमका कर्मचारी संग सम्बन्धित विषयको कार्यान्वयन गरिनुपर्ने ।



















