व्यवसायीका समस्या समाधान र महासंघकाे साख जाेगाउन मेरो उम्मेदवारी : हेमराज ढकाल
वि.सं.२०७९ चैत १४ मंगलवार १४:०२
shares

काठमाडौं, १४ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले अहिले देखिएको व्यवसायीक समस्या समाधान र महासंघ भित्र बस्तुगत संघलाई बलियो बनाउन आफुले उम्मेदवारी दिएको बताएका छन् । अहिले व्यवसायीहरु जटिल अवस्थामा पुगेकाले समस्या समाधान गर्दै महासंघको साख जोगाउनका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताएका हुन् ।
‘अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुग्दा पनि महासंघले उठाएको जायज मागलाई सम्बोधन गर्न सरकारले चासो दिएन,’ उनले भने ‘महासंघको पुरानो साख जोगाएर उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि मैले वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु ।’
महासंघ संचालनमा बस्तुगत संघ र बस्तुगततर्फबाट निर्वाचित भएर गएका केन्द्रिय सदस्यहरुको ठूलो भुमिका रहेको भन्दै सोही अनुरुप सम्माजनक व्यवहार गरिनुपर्ने उनको भनाइ थियो । ‘प्रायःजसो वस्तुगत संघ केन्द्रमा भएका कारणले पनि महासंघको हरेक गतिविधिमा वस्तुगततर्फबाट निर्वाचित भएर गएका केन्द्रिय सदस्यहरुको ठूलो भुमिका रहँदै आएको छ,’ उनले भने । तर पछिल्लो समय महासंघमा वस्तुगत परिषद्लाई एसोसिएटभन्दा कम २० प्रतिशतमात्रै मतभार दिएको भन्दै त्यसमा संशोधन गर्ने उनको भनाइ थियो ।

हाल महासंघले बस्तुगत संघहरुको क्षमता अभिवृद्धिमा चासो नदिएको भन्दै आफु उपाध्यक्षमा निर्वाचित भएर गएसँगै सो विषयमा समेत काम गर्ने उनले बताए । आफु महासंघमा वस्तुगततर्फतबाट केन्द्रीय सस्दय भएर विभिन्न समितिको जिम्मेवारी लिँदा बस्तुगत संघको हकहितमा थुप्रै काम गरेको पनि दाबी गरे । उपाध्यक्ष भएपछि वस्तुगत संघको अधिकार र दायरा ठूलो बनाउने काम गर्ने आफ्नो प्रमुख दायित्व हुने उनको भनाइ छ ।
‘नेपालमा वास्तविक रुपमा उद्योग व्यवसाय संचालन गरेर देशको अर्थतन्त्र चलायमान बनाउने भनेको बस्तुगत संघमा आवद्ध रहेका साथिहरुले हो,’ उनले भने, ‘महासंघको ब्रेन भनेको बस्तुगत संघ हो तर त्यसको सदुपयोग गर्न सकिएको छैन ।’ नेपालमा मौलिक बस्तुहरु उत्पादन गरी निर्यात गरेर देशमा डलर भित्र्याएर अर्थतन्त्रमा योगदान दिने काम बस्तुगतसँगले गर्दै आएको भन्दै यसको विकास र प्रवद्र्धनमा सरकारले विशेष चासोका साथै सोही अनुरुप सुविधा दिनुपर्ने उनको तर्क थियो ।
अहिले महासंघमा आवद्ध बस्तुगत संघको राय सुझाव मात्रै लिएर कार्यान्यवनमा लैजाने हो भने देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ ।



















