दुई लघुवित्तको शेयर मूल्य समायोजन
वि.सं.२०७९ चैत १६ बिहीवार ०९:३९
shares

काठमाडौं, १६ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा विजय लघुवित्त र कालिका लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेमा कालिका लघुवित्तको १९ प्रतिशत र विजय लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन भएको छ । समायोजनपश्चात कालिका लघुवित्तको शेयरमूल्य ६५९ रुपैयाँ ६६ पैसा कायम भएको छ भने विजय लघुवित्तको ६५८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा कालिका लघुवित्तको शेयर प्रतिकित्ता ७८५ रुपैयाँ र विजय लघुवित्तको ७९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कालिका लघुवित्त वित्तीय संस्थाले चैत २९ पोखरामा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
विजय लघुवित्त वित्तीय संस्थाले चैत २८ गते विजय विकास स्रोत केन्द्र, गैडाकोट, नवलपरासीमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।



















