मिटरब्याज पीडितसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन
वि.सं.२०७९ चैत २४ शुक्रवार २०:११
shares

काठमाडौं, २४ चैत । शुक्रबार गृह मन्त्रालयले मिटरव्याज पीडितहरूसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको हो ।
अघिल्लो हप्ता नै सरकारले मिटरव्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरव्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’ नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेको अवस्थामा उनीहरुका मागलाई समेत समेट्नेगरी वार्ता समिति निर्माण गरिएको हो ।
वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य रहेका छन् । गृहमन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव रहेका छन् । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न निर्देशन दिएको र समितिले तत्काल आवश्यक पहल थाल्ने गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।



















