Dhulikhel Eco Banner new

पुरानै स्थितिमा जग्गाको कित्ताकाट खोल्ने प्रधानमन्त्रीको घोषणा

9.72K
shares

काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै स्थितिमा जग्गाको कित्ताकाट खोल्ने बताएका छन् । सोमबार पोखराबाट आएको उद्योगी व्यवसायीसँगको भेटका क्रममा प्रधामन्त्री प्रचण्डले भू–उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताएका हुन् ।

अहिले बजारमा देखिएको तरलता अभाव जग्गामा पैसा फसेका कारण सिर्जनामा भएको निष्कर्ष सहिति सरकार पुरानै अवस्थामा कित्ताकाट खोल्ने तयारीमा रहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘तरलताको समस्या भनेको जग्गामा गएर पैसा फसेको छ, कित्ताकाट रोकिएको छ, बेचबिखन रोकिएको छ, पुँजीको अभाव हुनुको एउटा कारण त्यो हो भन्ने कुराले अहिलेलाई जग्गाको वर्गीकरणवाला कुरोलाई थाती राखेर भए पनि पुरानै स्थितिमा लैजाने र कित्ताकाट र जग्गा बेचबिखनलाई सैद्धान्तिक सहमति क्याबिनेटबाट दिने, त्यसो गर्‍यो भने अहिलेको क्राइसिस म्यानेज गर्छ भनेर हुन सक्ने जति कोशिस गरेका छौँ,’ प्रधामन्त्रीले भने ।

सरकारले यसै वर्ष ल्याएको भू–उपयोग नियमावलीका कारण स्थानीय तहले कृषि र गैर कृषियोग्य जग्गाको वर्गीकरण गर्नुपर्छ । यसरी जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट खोल्नुपर्ने नियम रहेको छ । तर, प्रधानमन्त्रीले बजारमा पैसा अभावको कारण जग्गा वर्गीकरणविनै कित्ताकाट खोल्ने तयारी गरिएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ब्याजदरलाई एकल अंकमा झार्ने आफ्नो प्रयास जारी रहेको पनि जानकारी दिए । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटले मुलुकलाई नयाँ ठाउँमा लैजानुपर्छ भनेर आफूहरु लागिरहेको पनि प्रचण्डले बताए ।