Dhulikhel Eco Banner new

कर्मचारीसँग निरही मन्त्री

5.24K
shares

काठमाडौं, २९ चैत । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या भएको गुनासो गरे । प्रतिनिधिसभाको बैंठकमा समय लिएर बोलेका मन्त्री मोदीले राजनीतिक पहुँचका आधारमा कर्मचारीहरु पठाएको ठाउँमा जान नमानेको गुनासो गरेका हुन् ।

‘कर्मचारीले राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँ छान्ने र मेयर, अध्यक्ष तथा राजनीतिक दलका नेताले आफ्नो स्थानीय तहमा आफू अनुकुलका कर्मचारी खोज्ने गरेका छन्,’ मन्त्री मोदीले भने, ‘एउटा मेयर साब आउनुहुन्छ फलानो कार्यकारी प्रमुख चाहियो भन्नुहुन्छ, खाली भएको साथीलाई पठाउँछौं, त्यहाँबाट पार्टीको साथी, प्रतिनिधिसभा सदस्य र उपमेयरले फोन गरेर मलाई नसोधी किन पठाएको भन्नुहुन्छ ।’

स्थानीय तहका प्रमुख, प्रदेश र संघीय सरकारका मन्त्रीले कर्मचारी छानेर माग्ने गरेको भन्दै उनले यसरी छानेका कर्मचारी २ हजार मात्र रहेको भन्दै संघीय निजामती सेवामा रहेका ५३ हजारमध्ये अरु ५१ हजार कर्मचारीलाई कहाँ पठाउने भनी प्रश्न गरे ।

कर्मचारीले उपत्यका र सुगम ठाउँमात्र खोज्ने र खटाएको ठाउँमा जाँदै नजाने अडान लिँदा पनि समस्या भएको मन्त्री मोदीले बताए । ‘कयौं कर्मचारी हामी त जाँदै जाँदैनौं जे सुकै गर्नुस् भन्ने पनि छन’ उनले भने ।