पहिलो चरणबाट वरिष्ठ उपाध्यक्षको नतिजा आउने सम्भावना न्यून
वि.सं.२०७९ चैत २९ बुधवार १५:०३
shares

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान कार्य जारी रहेको छ । बिहान १० बजेदेखि सुरु भएको निर्वाचनामा अहिले पनि मतदान कार्य जारी रहेको छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएकाले सबैभन्दा चर्को प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा नै रहेको छ ।
अर्को कार्यकालको अध्यक्षका लागि अहिले तीन जना वरिष्ठ उपाध्यक्षको चुनावी मैदानमा रहेका छन् । चुनावमा त्रिपक्षीय भिडन्त हुँदा पहिलो चरणमा नै वरिष्ठ उपाध्यक्षको नतिजा आउने सम्भावना भने निकै कम रहेको बताइएको छ ।
महासंघको विधान अनुसार जम्मा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार वरिष्ठ उपाध्यक्षमा विजयी हुने छन् । मैदानमा तीन जना उम्मेदवार भएकाले कसैले पनि ५० प्रतिशत मत कठाउन नसक्ने र अर्को चरणमा निर्वाचन हुने आंकल गरिएको छ । जसमा बढी मत ल्याउने दुई जनाले अर्को चरणमा प्रतिपस्र्धा गर्ने छन् ।
अहिले चुनावी मैदानमा महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र बहालवाला उपाध्यक्ष द्धय अन्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा रहेका छन् । यो निर्वाचनमा ६४ पदका लागि ११६ जनाले मैदानमा रहेका छन् । जसमा जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल महासंघको अध्यक्ष बनिसकेका छन् ।



















