Dhulikhel Eco Banner new

निजी क्षेत्रलाई अख्तियारको दायरामा राख्न मिल्दैन् : अध्यक्ष ढकाल

5.6K
shares

काठमाडौं, ८ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र भित्र राख्न नहुनेमा जोड दिएका छन् । निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा राख्दा लगानी निरुत्साहित हुने भन्दै निजी क्षेत्रलाई अख्तियारको दायरामा राख्न नमिल्ने बताएका हुन् ।

अध्यक्ष ढकालले राष्टिय सभाबाट प्रतिनिधि सभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमा भएको बैंक वित्तिय संस्था, पब्लिक कम्पनी, अस्पताल आदिलाई अख्तियारको दायरामा ल्याउने व्यवस्था हटाउन माग गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।

सोही कार्यक्रममा पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको धारा २३९ अनुसार अख्तियार प्राप्त व्यक्ति मात्रै अख्यिारको दायरामा आउने हुँदा निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नसक्ने बताए । यो व्यवस्था संशोधन नभए निजी क्षेत्र निरुत्साहित हुने र लगानीको वातावरण बिग्रिने उनले बताए । नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने तर नियामक निकायलाई भने बलियो बनाउन सकिने बताए । उनले यो व्यवस्था संशोधनका लागि पार्टीले पहल गर्नुपर्ने बताए ।