प्रधानमन्त्रीको भारत भ्रमणका लागि राष्ट्र बैंकका २ सुझाव
भारु सटहीको व्यवस्था गर्न र क्रस बोर्डर डिजिटल कारोबार सुचारु गर्न पहल हुनुपर्ने
वि.सं.२०८० वैशाख ११ सोमवार ०७:५२
shares

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा उठाउने गरी नेपाल राष्ट्र बैंकले २ वटा सुझाव दिने भएको छ । प्रधानमन्त्री प्रचण्डको आगामी जेठ १० भित्र भारत भ्रमणको तयारी छ । प्रधानमन्त्रीको भ्रमणमा केन्द्रीय बैंकका तर्फबाट २ वटा सुझाव दिने तयारी गरिएको हो ।
राष्ट्र बैंक श्रोतका अनुसार नसाटेर थन्किएका भारु सटही गर्न नेपाल सरकारका तर्फबाट अनुरोध गर्न सुझाव दिने तयारी छ । दोस्रो सुझाव भनेको क्रश बोर्डर डिजिटल पेमेन्ट हो । २३ कात्तिक २०७३ मा भारत सरकारले एक्कासी ५ सय र १ हजार रुपैयाँका दरमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
कालो धन नियन्त्रण गर्न भन्दै छिमेकी मुलुक भारतले गरेको नोटबन्दीको यो निर्णयले नेपाल सरकारलाई भने अहिलेसम्म पिरोलेको छ । नेपालको बैंकिङ प्रणालीमा रहेका ७ करोड भारतीय रुपैयाँ अझै साटिएका छैनन् । नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोटहरु साट्न भारतको केन्द्रीय बैंकलाई पटक–पटक पत्राचार गरे पनि सुनुवाइ भएको छैन ।
प्रधानमन्त्री स्तरीय भ्रमणका बेला यो विषय उठान भए ७ करोड रुपैयाँ साटिन सक्ने राष्ट्र बैंकको अपेक्षा छ । प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनु पर्ने एजेण्डाको रुपमा राष्ट्र बैंकले दिन खोजेको सुझाव भनेको डिजिटल कारोबार सम्बन्धी हो । अहिले नेपालमा क्यूआर पेमेन्ट जस्ता डिजिटल कारोबार प्रसस्तै हुन्छ्न । तर, यस्त ाडिजिटल कारोबारहरु स्वदेशभित्र मात्रै हुने गरेका छन् ।
छिमेकी मुलुक भारतसँग पनि यस्तो कारोबार भए वित्तीय कारोबारमा केही सहजता हुने राष्ट्र बैंकको विस्वास छ । यसका लागि नेपालको नेपाल क्लियरिङ हाउस र भारतको यूपीआईबीच सम्झौता गरेर क्रस बोर्डर डिजिटल कारोबार गर्न सकिने राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।
‘भारत र भुटानबीच पनि यस्तो कारोबारको शुभारम्भ भइसकेको छ’ राष्ट्र बैंक श्रोत भन्छन्, ‘नेपाल र भारतबीच भयो भने पनि दुबै देशका लागि राम्रो हुनेछ ।’ यस विषयमा राष्ट्र बैंकले यस अघि पनि चासो राखेको थियो । भारतीय केन्द्रीय बैंकका गभर्नरलाई गभर्नर अधिकारीले केही समय अघि बधाई सन्देश पठाउँदा पनि यो विषय उठान गरेका थिए ।



















