नौ महिनामा भित्रियो ९ खर्ब बढि रेमिट्यान्स
वि.सं.२०८० वैशाख २८ बिहीवार ०७:०४
shares

काठमाडौं, २७ वैशाख । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल भित्रिने रेमिट्यान्स २४.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार यो चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा २४.२ प्रतिशतले बढेर ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा भने नेपाल भित्रिने त्यस्तो रेमिट्यान्स शून्य दशमलव २ प्रतिशतले ऋणात्मक हरेको थियो । समिक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि बढेको छ ।
यो अवधिमा नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३ लाख ८७ हजार ८३९ जना पुगेका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई ९९६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।



















