Dhulikhel Eco Banner new

निक्षेप तथा कर्जा सुरक्षण कोष र हिमालयन बैंकबीच कर्जा सुरक्षण सम्बन्धी सम्झौता

5.81K
shares

काठमाडौं, २८ वैशाख । निक्षेप तथा कर्जा सुरक्षण कोष र हिमालयन बैंक लिमिटेड बीच लघुवित्त तथा विपन्न वर्गलाई बीना धितोमा कर्जा प्रवाह गर्न सहकार्य हुने भएको छ । बैंक र कोष बीच यस यस विषयमा सम्झौता भएको हो ।

सम्झौता अनुसार हिमालयन बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति १० लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति १० लाखसम्म, भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न प्रदान गरिने कर्जामा प्रतिव्यक्ति १० लाखसम्म, सशस्त्र द्धन्द्धबाट प्रभावित व्यक्तिको लागि प्रदान गरिने स्वरोजगार कर्जामा प्रतिव्यक्ति वा परिवार १० लाख रुपैयाँसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र हिमालयन बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत विजय नकर्मी, सहायक प्रमुख कार्यकारी अधिकृत सतिस राज जोशी तथा निक्षेप विभाग प्रमुख राजेश भट्टराईको उपस्थिति रहेको थियो ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क बार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत हिमालयन बैंक लिमिटेडले कोषमा बुझाउनेछ । कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा संस्थाले दावी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्नेछ ।