सरकारसँग एमसिसि परियोजना कार्यन्वयनका लागि सुरक्षा माग
वि.सं.२०८० जेठ ६ शनिवार १३:५०
shares

काठमाडौं, ६ जेठ । गृहमन्त्रालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसिसि(मिलेनियम च्यालेन्ज कर्पोरेशन)का भाईस प्रेसिडेन्ट जोनथन बुक्सबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा एमसिसि परियोजना अन्तर्गत हालका गतिविधिको बारेमा सामान्य छलफल भएको गृहमन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए ।
भेटघाटका क्रममा भाईसि प्रेसिडेन्ट बुक्सले परियोजनाको अगामि गतिविधिका लागि आवश्यक जग्गा प्राप्ती र परियोजनालाई उपलब्ध गराउनु पर्ने सुरक्षा तथा समन्वयका पक्षमा गृहमन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गरेका थिए ।
‘प्रधानमन्त्री दाहालसँग एमसिसि परियोजनाको गतिविधिका सम्बन्धमा सामान्य कुराकानी गर्न उहाँ उपस्थित हुनु भएको थियो । भेटवार्ताका क्रममा परियोजनाको अगामि गतिविधि, जग्गा प्राप्ती र परियोजनालाई उपलब्ध गराउनु पर्ने सुरक्षा तथा समन्वयका पक्षमा गृहमन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि उहाँले आग्रह गर्नुभयो,’ भेटवार्ता बारे जानकारी दिँदै गृहसचिव भट्टराईले भने ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले परियोजना समयमै सम्पन्न गर्न मन्त्रालय र मातहत रहेका जिल्ला प्रशासन कार्यालयबाट पर्याप्त सहयोग हुने विश्वास दिलाएको गृहसचिव भट्टराईले बताए ।



















