Dhulikhel Eco Banner new

बालेनको एक्सन : बसपार्क बाहिरका टिकट काउन्टर आज हटाइए

5.3K
shares

काठमाडौं, १ असार । काठमाडौं भित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जिप तथा माइक्रो बस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् ।

काठमाडौं महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जिप तथा माइक्रो बस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् ।

काठमाडौं भित्रको बल्खु, कलङ्की, बालाजु, माछा पोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउन्टर राखेर सञ्चालन हुँदै आएका माइक्रो बस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् ।

महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउन्टर हटाएको छ । कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टिकट काउन्टर हटाइएको जानकारी दिए ।

उनका अनुसार महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनिकरुपमा उपत्यका बाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुनेछन् । “माइक्रो बस तथा जिपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ र काउन्टर को व्यवस्था गरिएको छ”, प्रहरी प्रमुख पाण्डेले बताए ।

नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणलाई तीव्रता दिएको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जिप तथा माइक्रो बसलाई नयाँ काउन्टर निर्माणको काम भइरहेको बताए । कामपाको निर्णयले सार्वजनिक यातायात सञ्चालन थप व्यवस्थित र भरपर्दो हुने उनको भनाइ थियो ।

माइक्रो बस तथा जिप समन्वय समितिका संयोजक राजेन्द्र आचार्यले नयाँ बसपार्कभित्रबाट सार्वजनिक यातायात सञ्चालन गर्न समिति लागिरहेको बताए । “कामपाले आजदेखि लागू हुने गरी लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनमा लागेका छौँ”, उहाँले भने ।

यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठुला सार्वजनिक सवारी साधन मात्र सञ्चालन हुँदै आएका थिए । त्यस्तै, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रो बस र बल्खुबाट हेटौँडा चल्ने टाटा सुमो सञ्चालन हुँदै आएका थिए ।

नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालनमा भएसँगै यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्न संयोजक आचार्यले महानगरसँग आग्रह गरेका हुन ।

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्दै पार्किङका लागि कामपाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता रहेको छ ।