Dhulikhel Eco Banner new

देशभर राष्ट्रिय धान दिवस मनाइँदै, प्रधानमन्त्री प्रचण्डले दिए शुभकामना  

5.56K
shares

काठमाडौँ, १५ असार ।“जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नारा सहित आज असार १५ गते २० औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० मनाईदैछ । “मानो रोपेर मुरी फलाउने दिन” आज किसानहरु भव्यताका साथ देशभर धान दिवस मनाउँदै छन् ।

नेपाल कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनता कृषिमा आधारित छन् । आज खेतमा काम गरी दही चिउरा खाएर धान दिवस तथा रोपाई महोत्सव मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल देखि हरेक वर्षको असार १५ लाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
असार १५ गते हरेक नेपाली समाजका लागि एउटा राष्ट्रिय सांस्कृतिक पर्व बन्न पुगेको छ ।

यसै बिच,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान दिवस तथा रोपाई महोत्सवको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै नागरिकलाई पोषण तथा खाद्य सुरक्षा दिनु राज्यको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।

“देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिआएको” पनि प्रधानमन्त्रीले जारी गरेको सन्देशमा बताइएको छ ।