Dhulikhel Eco Banner new

राष्ट्र बैंकले दोहोरो मौद्रिक नीति लिन जरुरी छ : अध्यक्ष अग्रवाल

6.4K
shares

काठमाडौं, १९ असार । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकले खुकुलो र लचिलो खालको दोहोरो मौद्रिक नीति लिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘मौद्रिक नीति सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै अग्रवालले यस्तो बताएका हुन् ।

उनले भने, ‘अर्थ व्यवस्थालाई मन्दीबाट बाहीर ल्याउनको लागि राष्ट्र बैंकले दोहोरो, प्रकृतिको मौद्रिक नीति लिनुपर्ने परिसंघको धारणा छ । मूल्य वृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति आवश्यक छ भने,समग्र माग विस्तार र वृद्धिका लागि रोजगारी विस्तार र सृजना गर्न खुकुलो मौद्रिक नीतिको खाँचो छ ।’

उनले राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई स्वस्थ राख्दै समग्र बजार उकास्ने खालको नीति ल्याउनुपर्ने बताए । ‘ब्याजदरलाई एकल अंकमा सिमित गर्ने हो भने मुलुकको स्रोत साधन र सिपको उपयोग गरी आयात प्रतिस्थापन र रोजगारी सिर्जना भइ अर्थतन्त्र मजबुत हुन्छ’ उनले भने ।

अग्रवालले निजी क्षेत्रको कर्जा विस्तारमा जोड दिनेगरी मौद्रिक नीति ल्याउन सुझाव दिए। ‘सरकारले आगामी आर्थिक वर्षका लागि लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रमा कर्जा विस्तारमा जोड दिन आवश्यक छ’, उनले भने, ‘अहिलेको समग्र अर्थतन्त्र समस्यामा हुँदा क्रयशक्ति घटेको, उधारो कारोबार उठ्न नसकेको, उद्योगधन्दा न्यून क्षमतामा चलेको तथा केही बन्द हुने अवस्थामा पुगेको लगायतका समस्या समाधान गर्नेगरी मौद्रिक नीति आउनुपर्छ ।’ समग्र अर्थतन्त्र नै समस्यामा पर्दा औद्योगिक वातावरण बन्न नसकेको उनको बुझाइ छ ।