फोहोर हटेपछि बद्लिएको सेतो पुलको स्वरूप (भिडियो सहित)
वि.सं.२०८० साउन ५ शुक्रवार १०:२२
shares

काठमाडौँ, ५ साउन । अव्यवस्थित रूपमा फालिएको फोहोरको दुर्गन्धले डुङडुङती गन्हाएको सेतो पुल अहिले सफा भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो प्राथमिकतामा फोहोर व्यवस्थापनलाई राखेर काम गर्न थालेपछि समग्र काठमाडौँ सहर नै सफा हुन थालेको हो ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र मेयरमा निर्वाचित भई बालेन्द्र शाह९बालेन० आइसकेपछि काठमाडौँ सहरको मुहार फेरिन थालेको स्थानीयहरू बताउँछन् । फोहोरको डंगुरले भरिने सेतो पुलमा अहिले महानगरले ‘फोहोर फाल्न मनाही’को बोर्ड समेत राखेको छ ।
त्यसै गरी काठमाडौँ महानगरपालिकामा बालेन शाह मेयर भएर आइसकेपछि काठमाडौँका फोहोरहरू व्यवस्थित हुन थालेको स्थानीय सिता गन्धर्व बताउँछिन् । उनी भन्छिन्, ‘पहिले त यहाँ फोहोरका रासहरू हुन्थे । जताततै छरिएका फोहोरहरूले वातावरण धेरै दुर्गन्धित भएको थियो । गन्हाएर बस्न सकिँदैन थियो । तर अहिले त धेरै सफा छ, धेरै सुधार भएको छ ।
काठमाडौँको धोविखोला स्थित सेतो पुल परिसर पहिला मानिसहरूको फोहोर फाल्ने ठाउँ नै बनिसकेको विद्यालयबाट फर्किरहेका एक विद्यार्थी बताउँछन् । उनले भने, ‘यहाँ पहिला अत्यधिक फोहोर हुन्थ्यो । मानिसहरूले राति राति फोहोर फाल्थे बाटोमा हिँडडुल गर्न नै गाह्रो हुन्थ्यो । अहिले त धेरै सफा भएको छ ।’
फोहोर व्यवस्थापनमा महानगरले देखाएको तदारुकता र मेहनतले काठमाडौँका सडक तथा पुलहरु सफा हुँदै गएका छन् । सडकबाट फोहोरको डंगुरहरु उठ्न थालेपछि काठमाडौँको वातावरण र स्वरूपमा सुधार देखिएको छ ।















